असार २९ मा सरोज खनाल निर्देशित ‘बगान’को प्रदर्शन मिति घोषणा

असार २९ मा सरोज खनाल निर्देशित ‘बगान’को प्रदर्शन मिति घोषणा

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – अभिनेता सरोज खनालको डेब्यू निर्देशित सिनेमा ‘बगान’को प्रदर्शन मिति घोषणा गरिएको छ । बिहीबार एक पोस्टर सार्वजनिक गर्दै यही असार २९ गतेलाई सिनेमाको प्रदर्शन मिति घोषणा गरिएको हो ।

यसअघि गत वर्षको फागुन १२ गते सिनेमा प्रदर्शनमा आउने तयारीमा थियो । तर, विभिन्न कारणले रिलिज हुन सकेन । सुरेश वाग्ले प्रस्तुतकर्ता रहेको सिनेमाका कार्यकारी निर्माता विनोद मानन्धर हुन् । निर्देशक खनालका अलवा करिश्मा मानन्धर, प्रमिल कार्की, नीर शाह, मिथिला शर्मा, बसुन्धरा भुषालको अभिनय रहेको सिनेमामा अभिनेता आकाश श्रेष्ठ विशेष भूमिकामा छन् ।

सिनेमामा गौरीशंकर धुजुको डिओपी, नारायण जिसी र उत्सव दाहालको छायांकन, अर्जुन जिसी, राजेश शाह र सन्देश शाहको सम्पादन छ । निर्देशक खनालले सिनेमाको माध्यमबाट आफूले विधवा आमाको पनि विवाह गर्नुपर्छ भनेर सवाल उठाएको बताएका छन् ।

निर्देशक खनाल भन्छन्, ‘यदि अल्पआयूमै श्रीमातीको निधन भएपछि पुरुषलाई बाँकीको जीवन विताउन जीवन साथीको खाँचो हुन्छ भने के महिलाहरुलाई हुँदैन ? अब विधूर पिताको मात्र होइन, विधवा आमाको पनि विवाह गर्नुपर्छ । सिनेमाले उठाएको मुख्य कथा हो ।’