‘आदिपुरुष’मा राखिएको विवादित अंश हटाउन पहल गरिदिन सञ्चार मन्त्रालयलाई बालेनको पत्र

‘आदिपुरुष’मा राखिएको विवादित अंश हटाउन पहल गरिदिन सञ्चार मन्त्रालयलाई बालेनको पत्र

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले सुचना तथा प्रविधि मन्त्रालयलाई पत्र लेख्दै दक्षिण भारतीय सिनेमा ‘आदिपुरुष’मा राखिएको विवादित अंश हटाउन पहल गरि अनुरोध गरेका छन् । नेपाललगायत विश्वभरका सिनेमा घरमा आदिपुरुष अहिलेकै अवस्थामा प्रदर्शन भएमा नेपालको राष्ट्रियता, सांस्कृतिक एकता र राष्ट्रिय विभूतिमाथि ठाडो प्रहार भई अपूरणीय क्षति हुने उल्लेख पत्रमा गरेका हुन् ।

नेपालको संविधानको धारा ५ र ५६ को उपधारा (६) ले संघ, प्रदेश र स्थानीय सरकारलाई राष्ट्रिय हितको जिम्मेवारी गर्ने संरक्षण तोकेको उल्लेख गर्दै बालेनले ‘आदिपुरुष’बाट नेपालमाथि सांस्कृतिक अतिक्रमण भएको हुँदा महानगरको गम्भीर ध्यानाकर्षण भएको बताएका छन् ।

काठमाडौं महानगरपालिका क्षेत्रभित्र उक्त राष्ट्रहित विपरितको सिनेमाको प्रदर्शनलाई निषेध गरेर मात्र देशभित्रका अन्य क्षेत्र र विदेशमा प्रदर्शन हुन दिने हो भने त्यसले भ्रामक तथ्य स्थापित गर्ने तर्क पनि बालेनले गरेका छन् । यसका लागि सरकारले भारतसँग कूटनीतिक पहल गरी उक्त सिनेमाको आपत्तिजनक अंश हटाउने व्यवस्था मिलाउन समेत आग्रह गरेका छन् ।

बिहीबार एक स्टाटस लेख्दै बालेनले तीन दिनभित्र सिनेमामा समावेश उक्त संवाद नहटाए काठमाडौं महानगरभित्र भारतीय सिनेमाको प्रदर्शनमा रोक लगाउने उल्लेख गरेका थिए । शुक्रबार मन्त्रालयलाई पत्र लेख्दै आदिपुरुषबाट आपत्तिजनक अंश नहटाएसम्म नेपालमा कुनै पनि भारतीय सिनेमा प्रदर्शन गर्न निषेध गराउने व्यवस्था गर्न समेत आग्रह गरेका छन् ।