रुपेशको ‘दान्भी’मा पुजाको एक्सन अवतार, कुन्साङसँग बाँधियो जोडी

रुपेशको ‘दान्भी’मा पुजाको एक्सन अवतार, कुन्साङसँग बाँधियो जोडी

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – अभिनेत्री पूजा शर्मा र कुन्साङ बोम्जनको मुख्य भुमिका रहने सिनेमा ‘दान्भी’को निर्माण घोषणा गरिएको छ । यो सिनेमामा अभिनेत्री शर्मा पहिलो पटक एक्सन भूमिकामा प्रस्तुत हुने भएकी छन् । रुपेश तामाङको निर्देशनमा बन्न लागेको सिनेमामा उनी एक्सन अवतारमा देखिन लागेकी हुन् ।

शुक्रबार सार्वजनिक गरिएको तीनवटा पोस्टरमा उनलाई रोमान्टिक र एक्सन मूडमा देख्न सकिन्छ । पोस्टरमा उनी पेस्तोलसहित पनि देखिएकी छन् । सिनेमामा पूजाको जोडीको रुपमा मोडल कुन्साङ बोम्जन देखिने भएका छन् । यही सिनेमाबाट उनले अभिनेताको रुपमा डेब्यू गर्दैछन् । सिनेमामा कुन्साङ रोमान्टिक भूमिकामा प्रस्तुत हुने सार्वजनिक पोस्टरबाट बुझ्न सकिन्छ ।

यसअघि एक्सन सिनेमा ‘जय शम्भु’को निर्देशन गरेका तामाङले यसपटक आफूले एक्सनमा नयाँ शैली भित्राउन लागेको बताएका छन् । सिनेमाले दर्शकलाई पूर्ण मनोरञ्जन दिने उनको दाबी छ । त्यस्तै, पूजाले पहिलो पटक एक्सन भूमिकामा काम गर्न आफू उत्साहित रहेको बताएकी छन् । सिनेमाका लागि शरीर कसिलो बनाउन उनले लामो समयदेखि जिममा मिहिनेत गरिरहेकी छन् ।

सिनेमाका अन्य कलाकार र प्राविधिक टिम चाँडै सार्वजनिक गरिने निर्देशक तामाङले बताए । सिनेमाको छायांकन नेपाल र सिक्किमको विभिन्न ठाउँमा गरिनेछ । अनुप गडाल निर्माता रहेको सिनेमामा पवन राना मगर कार्यकारी निर्माताको रुपमा छन् । श्रवण कुमार श्रेष्ठ, गोकुल सुवेदी र हर्क बहादुर वाइवा सिनेमाका सह-निर्माता हुन् ।