काठमाडौं महानगरभित्रका हलमा सोमबारदेखि भारतीय सिनेमाको प्रदर्शन रोकिने

काठमाडौं महानगरभित्रका हलमा सोमबारदेखि भारतीय सिनेमाको प्रदर्शन रोकिने

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाठौं – सोमबारदेखि काठमाडौं महानगरपालिकाले महानगरभित्रका सिनेमा हलमा हिन्दी सिनेमाको प्रदर्शन रोक्ने भएको छ । मेयर बालेन्द्र शाहको सचिवालयल नगर प्रहरीलाई खटाएर हिन्दी सिनेमाको प्रदर्शन रोक्न निर्देशन दिएको जानकारी प्राप्त छ ।

मेयर शाहको निर्देशनपछि नगर प्रहरीले आइतबार बेलुकासम्म सबै हलमा पुगेर भारतीय सिनेमा नचलाउन निर्देशन दिने भएका छन् । ‘मेयरको निर्देशनपछि भोलिदेखि काठमाडौं महानगरका सबै हलमा भारतीय सिनेमाको प्रदर्शन रोक्ने निर्णय भएको छ । यसका लागि नगर प्रहरी आजैदेखि खट्नेछन्,’ सचिवालयले भन्यो । काठमाडौं महानगरका ३२ वडाभित्र १७ सिनेमा हल सञ्चालनमा छन् ।

दक्षिण भारतीय सिनेमा ‘आदिपुरुष’मा समावेश ‘जानकी भारतकी छोरी हुन्’ भन्ने वाक्यलाई भारतमा सच्याउन मेयर शाहले फेसबुक स्टाटसमार्फत तीन दिनको अल्टिमेटम दिएका थिए । आइतबार तीन दिन सकिंदासम्म उक्त संवाद नसच्चिएको भन्दै बालेनले सोमबारदेखि भारतीय सिनेमा रोक्न निर्देशन दिएका हुन् ।

आइतबार बेलुकासम्म सिनेमा निर्माताले भारतमा उक्त संवादलाई सच्याएका छैनन् । सिनेमाका गीतकार तथा लेखक मनोज मुन्तशीरले उल्टो सन् १९०३ अघि नेपाल भारतकै अंश रहेको भन्दै जानकी भारतकी छोरी रहेको भ्रम सिर्जना गर्न खोजेका छन् ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई मेयर शाहले शुक्रबार पत्र पठाउँदै उक्त आपत्तिजनक संवाद नसच्चाए नेपालभर भारतीय सिनेमाको प्रदर्शन रोक्न आग्रह गरेका थिए ।