‘परस्त्री’ नेपाली समाजमा घटिरहेका घटनासँग मिल्दोजुल्दो छ : सुरज पाण्डे

‘परस्त्री’ नेपाली समाजमा घटिरहेका घटनासँग मिल्दोजुल्दो छ : सुरज पाण्डे

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाठौं – सुरज पाण्डेको डेव्यु निर्देशकिय सिनेमा ‘परस्त्री’ आगामी असार १५ गतेबाट नेपाली र हिन्दीमा प्रदर्शमा आउँदै छ । उनी नेपाली सिनेमा अभिनेताको रुपमा प्रवेश गरेका थिए । आमा शर्मिला पाण्डेको लगानीमा निर्माण भएको सिनेमा ‘लभ लभ लभ’मा मुख्य अभिनेताको रुपमा काम गरेका हुन् ।

दीपेन्द्र के खनालको निर्देशन र अभिनेत्री स्वस्तिमा खड्काको अभिनय रहेको सिनेमाबाट सुरजले राम्रै चर्चा पाएका थिए । तर, पहिलो सिनेमा रिलिजपछि अभिनय यात्रालाई पूर्णविराम लगाएका सुरज अब निर्देशकको रुपमा उदाउने तयारीमा छन् । सार्वजनिक भएको सिनेमाको ट्रेलर हेर्दा उनले पहिलो सिनेमामै चुनौतीपूर्ण विषयलाई उठाउने प्रयास गरेको देखिन्छ । सिनेमाको दृश्यभाषामा सशक्त रहेको संकेत सार्वजनिक ट्रेलरले गर्छ ।

सुरजले पहिलो सिनेमाबाट एउटा कुरा भने बुझेका छन्, सिनेमा निर्माण गर्ने काम सजिलो रहनेछ । शुक्रबार राजधानीमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा उनले भने, ‘मेरो अनुभवमा सिनेमा निर्माण गर्न निकै गाह्रो रहेछ । यद्यपि, सिनेमाका लागि पूर्वतयारी राम्रोसँग गरेका थियौं । टिम राम्रो थियो । त्यसले गर्दा सजिलैसँग काम गरियो ।’ सिनेमाले उठाएको कथा नेपाली समाजमा घटिरहेका घटनासँग केही हदसम्म मिल्दोजुल्दो रहेको उनको भनाई छ ।

‘विवाहेत्तर सम्बन्धको कथामा सिनेमा बनेको छ । अहिले समाजमा घटिरहेकै घटनासँग मिल्दोजुल्दो विषयलाई प्रस्तुत गरेका छौं । सिनेमाको कथावस्तु समाजसँग पूरै त नमिल्ला तर कहीँ कतै मिल्न सक्छ । सिनेमा थ्रिलर जनरामा छ,’ निर्देशक पाण्डे भन्छन्, ‘थ्रिलर जनरामा नेपालमा यसअभि बनेका सिनमाभन्दा केही बेग्लै छ । सिनेमाको कथावस्तु नै फरक छ । सिनेमा ‘लार्ज स्केल’मा निर्माण गरेका छौं ।’

सिनेमामा अभिनेत्री शिल्पा मास्केको बोल्ड भूमिका छ । जबकि, अघिल्ला सिनेमामा उनले यसप्रकारको भूमिका गरेकी थिइनन् । कसरी शिल्पा नै रोजाईमा परिन् त ? भन्ने प्रश्नमा सुरज भन्छन्, ‘उहाँको मैले ‘द ब्रेकअप र कागजपत्र’ सिनेमा हेरेको थिएँ । त्यसमा उहाँको काम राम्रो लागेको थियो । यो सिनेमामा चरित्र चुनौतीपूर्ण भएपनि उहाँले गर्न सक्नुहुन्छ भन्ने विश्वास थियो । उहाँको कामबाट सन्तुष्ट पनि छु ।’

दीपेन्द्र के खनालको लेखन रहेको सिनेमामा एलिसा क्षेत्री, अशान्त शर्मा, गीत विष्ट, रामबाबु रेग्मी, सरस्वती अधिकारी, अर्पित न्यौपानेलगायतको पनि अभिनय छ । सिनेमामा निरज कँडेलको छायांकन र दीर्घ खड्काको सम्पादन रहेको छ । शर्मिला पाण्डे सिनेमाकी निर्मात्री हुन् ।