जब शिल्पालाई ‘परस्त्री’मा आफैँलाई कन्भिन्स गर्न कठिन भयो !

जब शिल्पालाई ‘परस्त्री’मा आफैँलाई कन्भिन्स गर्न कठिन भयो !

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – अभिनेत्री शिल्पा मास्केले ‘परस्त्री’को अफरमा आएपछि आफैँलाई कन्भिन्स गर्न आफूलाई नै कठिन भएको स्मरण गरेकी छन् । आफूले अनुभव नगरेको र समाजले समेत नराम्रो मान्ने विषमा अफर आउँदा के गर्ने भनेर दोधारमा परेको उनले बताएकी हुन् । सिनेमा ‘परस्त्री’को अफर आउँदा आफूले यस्तो सकस भोगेको अनुभव उनले सुनाएकी छन् ।

सिनेमाबाट अफर आएको थियो विवाहेत्तर सम्बन्धको क्यारेक्टरका लागि । तर, शिल्पा त विवाहसमेत नगरेकी मान्छे, कसरी रिफरेन्स लिने भन्ने लागेको उनी बताउँछिन् । ‘गाउँले केटीको रोल भएको भए म कुनै गाउँमा गएर बस्थेँ होला । त्यहाँको बारेमा अध्ययन गर्थें होला । कसैको इन्स्ट्रक्सन फलो गरेर काम गर्थें होला,’ शिल्पा भन्छिन्, ‘त्यसैले यो क्यारेक्टर त मेरै लागि कसरी गर्ने भन्ने चुनौती थियो । त्यसैले सुरुमा के गर्ने होला भनेर आफैँले आफैँलाई कन्भिन्स गर्न निकै गाह्रो भएको थियो ।’

तर, उनले सोचिन्, राम्रो टिम छ काम गर्नु पर्छ । उनले सम्झिइन्, सुरज पाण्डेको पहिलो निर्देशन । लेखन दीपेन्द्र के खनालको । त्यसपछि उनले आफैँले आफैँलाई कन्भिन्स् गरिन् । अभिनय त मेरो पेसा हो । जस्तो काम आउँछ, गर्नु पर्छ । त्यसमा पनि फरक काम गर्न रुचाउनेका लागि यो अवसर पनि त हो । सुरुमा त सिनेमाका केही सिन कसरी गर्ने भन्नेमा उनलाई संकोच थियो । तर, आफूहरू करिब एक महिना टिमसँगै वर्कसपमा बसेपछि परिवारजस्तै भइसकेकाले सहज भएको उनको अनुभव छ ।

 

‘सुरजको पहिलो निर्देशन भएकाले मलाई उसले हन्ड्रेन्ड परसेन्ट दिन्छ भन्ने विश्वास थियो । दीपेन्द्र के खनाल दाइको सिनेमाग्राफी मलाइ मन पर्छ । त्यसैले मैले यो चुनौतीपूर्ण भए पनि काम गर्ने निर्णय गरेको हुँ,’ शिल्पा भन्छिन्, ‘हरेक निर्देशकको पहिलो सिनेमा उसको बेबी जस्तै प्यारो हुन्छ रे । त्यो पनि मलाई लोभ लागेको थियो, सुरजको पहिलो सिनेमा भएकाले ।’

सुरज पाण्डेको निर्देशन रहेको सिनेमामा शिल्पा मास्केसहित कोसिस क्षेत्री र गौरव विष्ट मुख्य भूमिकामा छन् । असार १५ गतेबाट नेपाल र भारतमा एक साथ रिलिज हुने सिनेमालाई शर्मिला पाण्डेले निर्माण गरेकी हुन् । यो सिनेमा हिन्दी भाषामा पनि रिलिज हुनेछ । नेपालमा पनि दुवै भाषामा रिलिज हुनेछ ।