यूएनएले किन्यो ‘नाङ्गो गाउँ, भष्मे डन र दिमाग खराब’ जापान प्रदर्शन अधिकार

यूएनएले किन्यो ‘नाङ्गो गाउँ, भष्मे डन र दिमाग खराब’ जापान प्रदर्शन अधिकार

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – नेपाली सिनेमाको बजार पछिल्लो समय जापानमा समेत फराकिलो हुँदै गइरहेको छ । रामबाबु गुरुङ निर्देशित सिनेमा ‘कबड्डी ४’ र उपेन्द्र सुब्बा निर्देशित सिनेमा ‘जारी’ले रेकर्डब्रेक कमाई गरेपछि नेपाली सिनेमाको ब्यापारको लागि जापान कोशेढुङ्गा साबित भएको छ । एकपछि अर्को गर्दै नेपाली सिनेमाको सफल प्रदर्शनले नेपाली सिनेमा उधोगको लागि नै शुभ संकेत रहेको बुझाई जापानबासी नेपालीको छ ।

पछिल्लो समय नेपाली सिनेमाको प्रदर्शन र प्रवर्धनमा अग्र पङ्गितमा आएको कम्पनि हो ‘यूएनए इन्टरटेन्मेन्ट’ । यो कम्पनिले जापानमा थुप्रै नेपाली सिनेमाको प्रदर्शन र प्रवर्धन गर्दै आएरहेको छ । यतिबेला वर्ष २०८० का संभावनावान तीन ठुला ब्यानरका सिनेमाको जापान प्रदर्शन अधिकार लिएर प्रचार-प्रसार समेत थालनी गरिसकेको छ ।

‘यूएनए’ले तीन सिनेमा पशुपति प्रसाद २ : भस्मे डन, र ‘दिमाग खराब’ र ‘नाङ्गो गाउँ’को प्रदर्शन अधिकार आफ्नो पोल्टामा पारेको छ ।’ नाङ्गो गाउँ’लाई नेपालबाट भिजोनिया कम्पनिका सुवास लामिछानेले खरिद गर्दा जापानको नागोया प्रदर्शन अधिकार भने ‘यूएनए’ले लिएको हो । कम्पनिका निर्देशक उज्ज्वल गुरागाइँले तीनवटै सिनेमालाई जापानमा रहेका नेपालीमाझ प्रदर्शनको लागि महंगो रकममा खरिद गरेको बताए ।

जापानमा रेष्टुरेन्ट र पार्टी हलमा नेपाली सिनेमा प्रदर्शन हुँदै आएकोमा युएनएले एक कदम अघि बढ्दै अब सिनेमा हलमा नै नेपाली सिनेमाको प्रदर्शन गराउँदै छ । गुरागाइँले दिएको जानकारी अनुसार नेपाली पर्वहरूको अबसर पारेर आउँदो तीजमा ‘नाङ्गो गाउँ’, दशैंमा ‘पशुपति प्रसाद २ : भष्मे डन’ र तिहारमा ‘दिमाग खराब’ प्रदर्शन हुनेछन् ।

जापानका विभिन्न शहरमा सिनेमाको प्रदर्शनको लागि सहकार्य गर्न जापानबासी नेपालीमाझ कम्पनिले सार्वजनिक आह्वान समेत गरेको छ । यी सिनेमाको टिकट पनि युएनएको आफ्नै वेभसाइटबाट खरिद गर्न सकिवे व्यवस्था गरेको छ ।