गौरव भन्छन्,-‘परस्त्रीको मेरो क्यारेक्टर अहिलेका युवाको प्रतिनिधि पात्र हो’

गौरव भन्छन्,-‘परस्त्रीको मेरो क्यारेक्टर अहिलेका युवाको प्रतिनिधि पात्र हो’

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – आगामी शुक्रबारबाट प्रदर्शनको तयारीमा रहेको सिनेमा हो ‘परस्त्री’ । सुरज पाण्डेको डेव्यु निर्देशनमा निर्माण भएको सिनेमा अहिले विभिन्न कारणले चर्चामा छ ।

पोस्टर रिलिजदेखि नै चर्चामा रहेको सिनेमाको ट्रेलर रिलिजसँगै दर्शकमाझ एक किसिमको हाइप निर्माण गरिसकेको थियो । त्यसबीच सिनेमा नेपाली र हिन्दीमा एक साथ रिलिज हुने दर्शकमाझ सिनेमाको चासो निकै बढेको छ । सिनेमाको हिन्दी गीत र ट्रेलर समेत रिलिज भैसकेको छ ।

नेपाल रिलिजकै दिन भारतमा पनि रिलिज गर्ने तयारी स्वरुप अहिले निर्मात्री शर्मिला पाण्डे र निर्देशक सुरज पाण्डे अहिले मुम्बईमा सिनेमा रिलिजको चाँजोपाँजो मिलाई रहेका छन् । निर्देशक पाण्डेका अनुसार सिनेमाको मुम्बईमा भव्य प्रिमियर र पत्रकार सम्मेलन समेत गर्ने तयारी छ ।

यही सिनेमाबाट अभिनेता गौरव बिष्टले पहिलो पटक मुख्य अभिनेताको रुपमा काम गरेका छन् । यसअघि थिएटर तथा केही सिनेमामा अभिनय गरेका गौरव ‘परस्त्री’बाट नेपाली सिनेमा क्षेत्रमा अभिनेताको रुपमा जम्ने तयारीमा छन् । सोही अनुरुप आफुले सिनेमामा निकै मेहनत गरेको दाबी उनको छ । दीपेन्द्र के खनाल जस्ता सफल लेखक तथा निर्देशक र सुरज जस्तो उदयमान निर्देशकसँग काम गर्न पाउनु आफ्नो लागि चुनौती र अवसर दुवै रहेको बुझाई उनको छ ।

सिनेमाको क्यारेक्टरको बारेका गौरव भन्छन्,-‘परस्त्रीमा म कलेज सकेर बसेको युवाको भुमिकामा छु । जो निकै अल्लारे र चुलबुले छ । जसलाई लाईफमा रमाइलो निकै चाहिने हुन्छ । जसले परिमाणको कुनै ख्याल नगरी रमाइलो गर्ने अहिलेका युवा पुस्ताको प्रतिनित्व गर्ने पात्र हो ।’

सिनेमामा काम गर्न सहज भएको अनुभव गौरवको छ । ‘परस्त्री’मा काम गर्न सहज हुनुको कारण निर्माण टिम अर्थात् निर्मात्री शर्मिला पाण्डे, लेखक दिपेन्द्र के खनाल, निर्देशक सुरज पाण्डे, अभिनेत्री शिल्पा मास्के र अभिनेता कोशिस क्षेत्रीलगायतको टिम सर्पोटिभ र प्रेरणादायी हुनुलाई मान्छन् । साथै सिनेमाको छायांकन अगाडी गरिएको एक महिना लामो वर्कसपले पनि सिनेमामा काम सहज भएको गौरव बताउँछन् ।

सिनेमाको टिमले कुनैपनि कम्प्रमाइज नगरी सिनेमा निर्माण गरेकाले पनि परिमाण राम्रो आउने विश्वास उनको छ । सिनेमाको पोस्टर र ट्रेलर यिरलिज पश्चात आफन्त र साथीभाईबाट मिलेको राम्रो प्रतिक्रियाले पनि आफु उत्साही बनेको बताउँछन् । ‘परस्त्री’ले आगामी दिनमा अझै राम्रो टिम र कथामा काम गर्ने अवसर जुर्नेमा उनी विस्वस्त पनि छन् ।

विवाहोत्तर सम्बन्धले निम्त्याउने पारिवारिक र सामाजिक संकटको कथाबस्तुमा निर्माण भएको सिनेमाको निरज कँडेल छायांकन गरेका हुन् । सुरज पाण्डेको डेव्यु निर्देशन रहेको सिनेमामा कोशिस, शिल्पा र गौरवका अलवा अलिसा क्षेत्री, अशान्त शर्मा, रामबाबु रेग्मी, सरस्वती अधिकारी, झकेन बिसी र अर्पित न्यौपानेको अभिनय रहेको छ ।

सिनेमामा शर्मिला पाण्डे र दीपेन्द्र के खनालले निर्माणमा सहकार्य गरेका छन् । खनाल सिनेमाका लेखकसमेत हुन् । सिनेमालाई जिजिए ग्रुप र डिसिएनले वितरण गर्दैछन् ।