बिहीबार नै रिलिज भयो ‘परस्त्री’, भारतमा भोलीबाट रिलिज हुने

बिहीबार नै रिलिज भयो ‘परस्त्री’, भारतमा भोलीबाट रिलिज हुने

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – नेपाल र भारतमा एकसाथ प्रदर्शनको तयारीमा रहेको सिनेमा ‘परस्त्री’ आज बिहीबारबाट नै प्रदर्शनमा आएको छ । हिन्दीमा समेत डब गरिएको सिनेमा भारतमा भोलि शुक्रबारदेखि मात्र प्रदर्शनमा आउनेछ ।

सिनेमाको भारत प्रचारका लागि निर्देशकदेखि कलाकारसम्म मुम्बई र दिल्ली समेत पुगेका थिए । बुधबार काठमाडौंको बिग मुभिजमा सिनेमाको भव्य प्रिमियर शो राखिएको थियो । प्रिमियरमा उपस्थित भएका अतिथिहरुले सिनेमाको कथावस्तु, कलाकारको अभिनय, छायांकन तथा निर्देशकिय पाटोको प्रशंसा गरेका छन् ।

नेपालमा ‘परस्त्री’ एकदिन अगावै प्रदर्शनमा आउनुको कारण भने बबलिउड सिनेमा ‘सत्यप्रेम की कथा’ बिहीबार नै प्रदर्शनमा आउनु हो । सिनेमालाई मल्टीप्लेक्सहरुले राम्रो शो दिएका छन् । बैशाख १ गते आएको ‘जारी’पछि सुस्ताएको नेपाली सिनेमाको बजारलाई ‘परस्त्री’ले चलायमान बनाउने अपेक्षा सिनेमाकर्मीको छ ।

विवाहोत्तर सम्बन्धले निम्त्याउने समस्यामा आधारित सुरज पाण्डे निर्देशित सिनेमामा शिल्पा मास्के, कोशिस क्षेत्री, गौरव बिष्ट, अलिसा क्षेत्री, अशान्त शर्मा, रामबाबु रेग्मी, सरस्वती अधिकारी, झकेन बिसी, अर्पित न्यौपानेको अभिनय छ । शर्मिला पाण्डेको निर्माण र दीपेन्द्र के खनालको लेखन रहेको सिनेमालाई निरज कँडेलले छायांकन गरेका हुन् ।