प्रिमियर शोमा ‘परस्त्री’लाई उत्कृष्ट प्रतिक्रिया

प्रिमियर शोमा ‘परस्त्री’लाई उत्कृष्ट प्रतिक्रिया

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – आज बिहीबारबाट प्रदर्शनमा आएको सिनेमा ‘परस्त्री’को बुधबार साँझ कमलपोखरीस्थित बिग मुभिजमा भव्य प्रिमियर शोको आयोजना गरिएको थियो । सिनेमा हर्ने हलमा सिनेमाकर्मीदेखि रंग पत्रकारसम्मको बाक्लो भिड लागेको थियो । सिनेमा हेरेर निस्कँदै गर्दा सस्पेन्स थ्रिलर जनरामा निर्माण भएको सिनेमालाई मन पराए ।

प्रिमियर शोमा सिनेमा हेर्ने सिनेमाकर्मी र रंग पत्रकार सिनेमामा कलाकारकको अभिनय डेव्यु निर्देशक सुरज पाण्डे र दिपेन्द्र के खनालको लेखनको प्रशंसा गरेका थिए । बुधबार ‘परस्त्री’ हेर्न हलमा निर्देशक ज्ञानेन्द्र देउजा, दिवाकर भट्टराई, अभिनेता खगेन्द्र लामिछाने, मुकुन भुषाल, निश्चल खड्का, कबिर खड्का, अभिनेत्री स्वस्तिमा खड्का, अन्जना बराईली लगायत पुगेका थिए ।

बुधबार आयोजित सिनेमाको प्रिमियरमा  निर्देशक सुरज पाण्डेको कामको सबैले मुक्तकण्ठले प्रशंसा गरे । आमाको चाहना पुरा गर्न सिनेमा ‘लभ लभ लभ’मा अभिनेताको रुपमा काम गरेपनि सुरजको सपना भने निर्देशक बन्ने थियो । उनले सिनेमा ‘परस्त्री’बाट निर्देशनमा बलियो संभावना देखाएका छन् ।

सस्पेन्स थ्रीलर कथामा निर्माण भएको सिनेमालाई सुरजले २ घण्टाको कसिलो फ्रेम भित्र बाँधेका छन् । यसैले, सिनेमाको कथावस्तु र प्रस्तुतिले २ घन्टा दर्शकलाई आँखा झिमिक्क पार्न पनि पनि नदिने निर्माता तथा अभिनेता खगेन्द्र लामिछानेले बताए । सिनेमाबाट सुरजले सस्पेन्स थ्रीलर कथामा कसरी काम गर्नुपर्छ भन्ने पनि गतिलो उदाहरण रहेको बुझाई उनको छ ।

श्रीमान्-श्रीमतीको जीवनमा आउने उतार-चढाव र गलत केटासँग बिहे गर्दा युवतीले भोग्ने पिडाको कथामा सिनेमा निर्माण भएको छ । सिनेमाका मुख्य ३ कलाकारहरू कोशिश क्षेत्री, गौरव विष्ट र शिल्पा मास्केको कामको राम्रो प्रशंसा भैरहेको छ । उनीहरूले सिनेमामा गरेको अभिनयको उच्च प्रशंसा सिनेमाकर्मी हरूले गरेका छन्  ।

सिनेमाको प्रिमियरमा पुगेकी अभिनेत्री स्वस्तिमा खड्काले निर्देशक सुरज र कलाकारहरूको कामको खुलेरै तारिफ गरिन् । उनले भनिन्, ‘सुरजले आफुलाई ‘लभ लभ लभ’मा आफुलाई एउटा राम्रो कलाकारको रुपमा चिनाएको थियो । आफैले स्क्रिन सेयर गरेको कलाकारले यस्तो राम्रो सिनेमा निर्देशन गरेकोमा आफुलाई गर्व लगेको बताइन् । आफुले ‘परस्त्री’ हेरेपछि निर्देशनमा सुरजको भविष्य उज्वल देखेको भन्दै प्रशंसा गरिन् ।’

विवाहोत्तर सम्बन्धले निम्त्याउने पारिवारिक र सामाजिक संकटको कथाबस्तुमा निर्माण भएको सिनेमाको निरज कँडेल छायांकन गरेका हुन् । सुरज पाण्डेको डेव्यु निर्देशन रहेको सिनेमामा कोशिस, शिल्पा र गौरवका अलवा अलिसा क्षेत्री, अशान्त शर्मा, रामबाबु रेग्मी, सरस्वती अधिकारी, झकेन बिसी र अर्पित न्यौपानेको अभिनय रहेको छ ।

सिनेमामा शर्मिला पाण्डे र दीपेन्द्र के खनालले निर्माणमा सहकार्य गरेका छन् । खनाल सिनेमाका लेखकसमेत हुन् । सिनेमालाई जिजिए ग्रुप र डिसिएनले वितरण गरेका छन ।