चलचित्र विकास बोर्डले २३ औं वार्षिकोत्सवमा ल्यायो करिब १८ करोड बजेट

चलचित्र विकास बोर्डले २३ औं वार्षिकोत्सवमा ल्यायो करिब १८ करोड बजेट

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – चलचित्र विकास बोर्डले आर्थिक वर्ष २०८०/८१ को बजेट सार्वजनिक गरेको छ । नेपाल सरकार अन्तर्गत नेपाली सिनेमा क्षेत्रको सर्वोच्च निकाय विकास बोर्डको शनिबार २३ औं वार्षिकोत्सवमा बोर्डका सदस्य सचिव विशाल सापकोटाले १७ करोड ९५ लाख ४० हजारको बजेट प्रस्तुत गर्दै भावि कार्यक्रम तथा योजनाबारे जानकारी गराए हुन् । उक्त बजेटमा नेपाल सरकारबाट हालसम्म ४ करोड ४५ लाख प्राप्त छ ।

सदस्य सचिव सापकोटाले भने, ‘आर्थिक वर्ष २०८०/८१ मा नेपाल सरकारबाट ४ करोड ४५ लाख र बोर्डको आन्तरिक स्रोतबाट १३ करोड ५० लाख ४० हजार गरी १७ करोड ९५ लाख ४० हजार बजेट विनियोजन भएको छ । यो बोर्डबाट पारित गरेर स्वीकृतिका लागि मन्त्रालयमा पेश गरिएको छ ।’ बोर्डको बजेट दोलखामा सिनेमा सिटी र बनेपामा स्टुडियो निर्माणका लागि पनि खर्च गरिनेछ ।

सापकोटाले प्रस्तुत गरेको बजेटमा भनिएको छ, ‘दोलखा सिनेमा सिटीलाई सरकारी-निजी साझेदारी प्रक्रियामार्फत निर्माण गरिनेछ र काभ्रेको बनेपामा सुविधा सम्पन्न स्टुडियो निर्माण गरिनेछ ।’ तर, सिनेमा सिटी र स्टुडियो निर्माणका लागि बोर्डको बजेट हात्तिको मुखमा जिरा जस्तै हुने देखिन्छ । बोर्डको झन्डै १८ करोडबाट सिनेमा सिटी र स्टुडियोका लागि १/२ करोड पनि भाग पुग्ने देखिन्न ।

बोर्डको बजेटको ठूलो हिस्सा कर्मचारीको तलब-भत्तामा सकिन्छ । अवार्ड तथा महोत्सव गर्नेहरुलाई पनि बोर्डले मोटो पैसा बाँड्छ । बोर्ड आफैंले पनि विभिन्न कार्यशाला तथा महोत्सव आयोजना गर्नुपर्ने हुन्छ । यसबाट उघ्रिएको रकम मात्र सिनेमा सिटी र स्टुडियो निर्माणलाई छुटिने हो । त्यो रकम सिनेमा सिटी र स्टुडियोसम्म पुग्दा एउटा ट्वाइलेट बनाउन समेत नपुग्ने सिनेमाकर्मीहरु बताउँछन् ।

बोर्डले देशभरका हलहरुलाई केन्द्रीय व्यवस्थापन प्रणालीमा आबद्ध गराइ बक्स अफिस प्रणाली कार्यान्वयन गर्ने, ऐतिहासिक तथा वृतचित्र निर्माणलाई प्रवद्र्धन तथा प्रोत्साहन गर्ने, नेपाली बाहुल्यता रहेको एक देशमा ‘नेपाल सिनेमा मिट’ आयोजना गर्ने, विदेशमा प्रदर्शन हुने नेपाली सिनेमालाई सबटाइटल र इन्कोडिङका लागि आर्थिक सहयोग गर्ने लगायतका योजनाहरु अगाडि सारेको छ ।

यस्तै, शनिबार आयोजित वार्षिकोत्सव कार्यक्रममा विकास बोर्डले लघु सिनेमा, स्टोरी बोर्डबाट उत्कृष्ट ठहरिएको सिनेमा र विकास बोर्डका कर्मचारीहरू पुरस्कृत भएका थिए । बोर्डको कार्यक्रममा प्रमुख अतिथि बनेर पुगेकी सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले मुलुकलाई सिनेमा छायांकन र निर्माणको हबको रुपमा विकास गरेर लैजानुपर्ने बताएकी छन् ।

नेपालको भौगोलिक र सांस्कृतिक अनुकूलताले यो सम्भव रहेको चर्चा गर्दै उनले भनिन्, ‘सिनेमा निर्माणका सन्दर्भमा नेपाल खुला स्टुडियो हो । विश्वभर प्रचारप्रसार गरौं । यसलाई अनुपम हबका रुपमा विकास गर्न सक्ने आधार निर्माण गर्न सरकारले सहयोग गर्नेछ ।’ विद्यमान सिनेमा ऐन परिमार्जन गरेर यस क्षेत्रका समस्याको समाधान गर्न सरकार लागिपरेको उनले बताइन् ।

स्वदेशी सिनेमाको नीतिगत आधार तयार गरिने भन्दै मन्त्री शर्माले सिनेमा क्षेत्रलाई सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गरिन् । उनले भनिन्, ‘सरकारले लिने नीतिबाटै नेपाली सिनेमाको संरक्षण हुनुपर्छ । दोस्रो कुरा-प्रतिस्पर्धा नै हो । हामीले स्वदेशी सिनेमाको गुणस्तर सुधारेर यसलाई हेर्ने बनाउनैपर्छ । त्यसो गर्दा विषयवस्तु, प्रस्तुति र देशको आवश्यकताका दृष्टिले सिनेमा क्षेत्र अघि बढ्न सक्छ ।’