‘राजागन्ज’मा मिस नेपाल निकितासँग बाँधियो दयाहाङको जोडी, रामबाबु बने निर्माता

‘राजागन्ज’मा मिस नेपाल निकितासँग बाँधियो दयाहाङको जोडी, रामबाबु बने निर्माता

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – सन् २०१७ की मिस नेपाल निकिता चाण्डकले ‘साङ्लो’पछि अर्को नेपाली सिनेमामा गर्ने पक्का भएको छ । उनी ‘राजागन्ज’बाट पुनः सिनेमामा फर्किन लागेकी हुन् । सिनेमालाई ‘हाईवे’ तथा ‘ह्वाइट सन’ फेम निर्देशक दिपक रौनियारले निर्देशन गर्नेछन् ।

रौनियार तिनै निर्देशक हुन जसको पछिल्लो रिलिज ‘ह्वाइट सन’को प्रशंसा विश्वविख्यात ब्राजिली लेखक पाउलो कोहेलो समेतले प्रशंसा गरेका थिए । यस्तै यो सिनेमालाई ‘द न्यूयोर्क टाइम्स’ले हेर्नुपर्ने ९ नव निर्देशकको सूचिमासमेत राखेको थियो । सिनेमालाई ‘कबड्डी’ सिरिजका निर्देशक रामबाबु गुरुङले निर्माण गर्नेछन् ।

सिनेमामा निकिताका अलावा अर्की एक अभिनेत्रीले मुख्य भूमिका निर्वाह गर्नेछिन् । यो सिनेमालाई पुलिस थ्रिलरको जनरामा राखिएको छ । सिनेमामा निकिताका अलवा दयाहाङ राई र अभिनेत्री आशा मंगरातीको प्रमुख भूमिका रहनेछ । सिनेमामा ऋचा शर्मा, पशुपति राई, विजय बराल, गौमाया गुरुङ, घनश्याम मिश्रा, आरती मण्डल तथा पुष्पा यादवको अभिनय रहनेछ ।

यसै सिनेमाबाट निर्माता बनेका रामबाबुले निर्देशक रौनियारसँग आफू सिनेक्षेत्रमा काम सुरु गर्दाको सुरुवाती समयदेखि साथी रहेको उल्लेख गर्दै सँगै काम गर्ने अवसर जुरेकोमा खुशी व्यक्त गरेका छन् । ‘यो सिनेमा नेपाली सिनेमा क्षेत्रका लागि कोशेढुङ्गा हुनेछ र म यो सिनेमाले बाँसुरी फिल्मस्को गरिमा बढाउन सहयोग गर्ने कुराले खुशी छु’, उनले भनेका छन् ।

आदि फिल्मस् र बासुरी फिल्मस् प्रोडक्सनको संयूक्त प्रस्तुति रहने सिनेमाको सुटिङ जुलाइ २८ अर्थात साउन १२ गतेदेखि सुरु हुनेछ । त्यस्तै अभिनेत्री निकिताले दयाहाङ र आशाजस्ता दिग्गज कलाकारसँग अभिनय गर्न पाउँदा आफू उत्साहितसँगै र थोरै डरको महशुस गरिरहेको प्रतिक्रिया दिएकी छन् ।