मेनुका ‘गुराँस’को वर्ल्ड प्रिमियरका लागि उडिन् चेक रिपब्लिक

मेनुका ‘गुराँस’को वर्ल्ड प्रिमियरका लागि उडिन् चेक रिपब्लिक

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – अभिनेत्री मेनुका प्रधान मंगलबार चेक रिपब्लिकमा हुन लागेको ‘दि कार्लोभी भारी इन्टरनेसनल सिनेमा महोत्सव’मा सहभागी हुनका लागि त्यसतर्फ प्रस्थान गरेकी छिन् । आफू अभिनीत सिनेमा ‘गुराँस’ जुलाई ५ अर्थात् यही बुधबार उक्त फेस्टिभलमा वल्र्ड प्रिमियर हुने भएपछि चेक रिपब्लिक उडेकी हुन् ।

मेनुका अन्तर्राष्ट्रिय सिनेमा महोत्सवमा पहिलो पटक सहभागी हुन लागेकी हुन् । ‘मेरो यो अन्तर्राष्ट्रिय महोत्सवमा पहिलो अनुभव हो । त्यसैले स्वभाविक रुपमा खुसी लाग्ने नै भयो । अर्को कुरा चाहिँ म उत्सुक छु किनकि पढेको, सुनेको कुरा प्रत्यक्ष रुपमा अनुभव गर्दैछु,’ उनले उत्साहित हुँदै भनिन्, ‘तर मलाई त्यहाँ गएर अरुभन्दा पनि धेरै सिनेमा हेर्न मन छ । अनि त ‘गुराँस’ पनि हेरेको छैन, त्यो पनि हेर्न मन छ ।’

सिनेमामा मेनुका गुराँसको आमाको भूमिकामा छिन् । उनले आमाको भूमिका भए पनि कथा रोचक भएकाले काम गर्न राजी भएको बताइन् । ‘म त कहिले पनि सिनेमा गर्दा आमा हो कि छोरी हो भनेर हेर्दिनँ । आफ्नो भूमिका हेर्छु । यसमा पनि मेरो भूमिका रोचक भएकैले गरेकी हुँ । एक महिना दार्जिलिङमा सुटिङ हुँदा पनि रमाइलो भएको थियो,’ उनले सुनाइन् ।

नेपाल र भारतको प्रस्तुतिमा निर्माण भएको सिनेमालाई सौरभ राईले निर्देशन गरेका हुन् । महोत्सवमा निर्देशक राई पनि सहभागी हुनेछन् । हराएको कुकुरको खोजीमा निस्किएकी १० वर्षिया बालिकाको आँखाबाट कथा वाचन गरिएको सिनेमाले दार्जिलिङको बदलिँदो आर्थिक र सामाजिक सम्बन्धको कथा उठान गरेको छ । सिनेमालाई निर्देशक राई स्वयंले लेखेका हुन् । ‘गुराँस’लाई लोआइक्यू प्रोडक्सनका अलवा रामकृष्ण पोखरेल र सञ्जय गुलाटीले संयुक्त रुपमा निर्माण गरेका हुन् ।

नेदरल्यान्डको रोट्रेड्याम इन्टरनेसनल सिनेमा महोत्सवमा छनौट हुन सफल गुराँस’ले हुबेर्ट बल्स फन्ड जित्न सफल भएको थियो । सिनेमामा तुलसी खवासले ‘गुराँस’को रुपमा शीर्ष भूमिका निर्वाह गरेकी छन् । सिनेमामा खगेन्द्र लामिछानेको पनि अभिनय रहेको छ । सिनेमाको छायांकन सुबल केआरले गरेका हुन् भने सम्पादन सौरभ राई र अंकिता पुरकायस्थले गरेका हुन् ।