डिसिने अवार्डमा पुजा शर्मा उत्कृष्ट अभिनेत्री, निर्देशकमा सुदर्शन थापा उत्कृष्ट

डिसिने अवार्डमा पुजा शर्मा उत्कृष्ट अभिनेत्री, निर्देशकमा सुदर्शन थापा उत्कृष्ट

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – डिसिने अवार्डको १३ औं र १४ औं संस्करण सोमबार राजधानीमा सम्पन्न भएको छ । रसियन कल्चर सेन्टरमा आयोजित कार्यक्रममा दुई वर्षको अवार्ड एकैपटक प्रदान गरिएको हो । कोभिड १९ का कारण उक्त वर्षहरु अवार्ड आयोजना गर्न नसकिए पनि उत्कृष्ट सिनेमा निर्माणका लागि सिनेमाकर्मीहरुलाई निरन्तर प्रोत्साहित गर्नु पर्छ भन्ने मान्यता अनुरुप अवार्डलाई निरन्तरता दिइएको अध्यक्ष शान्तिप्रियले बताए ।

सिनेमाकर्मीहरुको बाक्लो उपस्थितिका बिच सम्पन्न अवार्ड समारोहमा कलाकारद्वय अर्जुन श्रेष्ठ र दिपाश्री निरौलालाई छायाँछबी रजत सम्मान र पत्रकार कुबेर गिरीलाई छायाँबछी पत्रकारिता पुरस्कार प्रदान गरिएको छ । समारोहमा १३ औं संस्करण अर्न्तगत वर्ष २०७७ मा प्रदर्शनमा आएका सातवटा सिनेमाबाट बिभिन्न पाँच बिधामा अवार्ड प्रदान गरिएको थियो ।

डिसिने अवार्ड २०७७ अर्न्तगत सर्वोत्कृष्ट सिनेमाको अवार्ड ‘श्री’बाट सूर्य बाहोराले प्राप्त गरेका छन् भने सर्वोत्कृष्ट अभिनेताको अवार्ड ‘हिरो रिर्न्टस’बाट सविन श्रेष्ठ, सर्वोत्कृष्ट अभिनेत्रीको अवार्ड ‘लक्ष्मी पुजा’बाट जाहन्वी बस्नेत, नृत्य निर्देशकको अवार्ड ‘गुड फ्रेण्ड’ अजय स्याङताङ, र सह-अभिनेताको अवार्ड ‘हिरो रिर्न्टस’बाट रोशन श्रेष्ठले प्राप्त गरेका छन् । समारोहमा कोभिड १९ को विषम परिस्थितिमा पनि सिनेमा प्रदर्शन गरेर सिनेमा क्षेत्रलाई चलायमान गराएको भन्दै यो वर्ष प्रदर्शनमा आएका ७ वटै सिनेमालाई कदर-पत्र समेत प्रदान गरिएको थियो ।

यस्तै चौथौं संस्करणको डिसिने अवार्ड २०७८ अर्न्तगत १३ बिद्यामा अवार्ड प्रदान गरिएको छ । यसवर्षको अवार्डमा सिनेमा ‘म यस्तो गीत गाउँछु २’ले उत्कृष्ट सिनेमा सहित छ बिधामा अवार्ड प्राप्त गरेको छ । यो सिनेमाबाट सुदर्शन थापाले उत्कृष्ट निर्देशक, पल शाहले उत्कृष्ट अभिनेता, पुजा शर्माले उत्कृष्ट अभिनेत्री, बनिष शाह र मिलन श्रेष्ठले उत्कृष्ट सम्पादक र अर्जुन पोखरेलले उत्कृष्ट संगीतकारको अवार्ड प्राप्त गरेका छन् ।

यता सिनेमा ‘चिसो एष्ट्रे’बाट दिनेश पाल्पालीले उत्कृष्ट लेखक, सिनेमा ‘हेल्लो जीन्दगी’बाट सम्राट बस्नेतले उत्कृष्ट द्वन्द्व निर्देशक, सिनेमा ‘आकाशे खेती’बाट रामजी लामिछानेले उत्कृष्ट नृत्य निर्देशक, सिनेमा ‘लप्पन छप्पन २’ बाट पुरुषोत्तम प्रधानले सर्वोत्कृष्ट छायाँकार, सिनेमा ‘हेल्लो जिन्दगी’बाट राजराज शिवाकोटीले उत्कृष्ट गायक र सिनेमा ‘हेल्लो जिन्दगी’बाटै निर्देशक सुर्य बोहराले जुरी अवार्ड प्राप्त गरेका छन् ।

अवार्ड समारोहमा कलाका बिभिन्न माध्यमबाट नेपाली सिनेमा, गीतसंगीत, कला तथा साहित्यका क्षेत्रमा योगदान पु¥याएका साधकलाई पनि छायाँछबी सम्मान प्रदान गरिएको छ । अभिनेता तथा मोडल दीनेश केसी, निर्देशक चेतनाथ दंगाल र समुन्द्र भट्ट, अभिनेत्री सानिया खान, प्राबिधिक प्रकाश मिश्र, मोडल रुपा राना, निर्माता तथा निर्देशक सन्तोष सुबेदी, गायिका मञ्जु थापा र गीतकार किरण केसी क्रोधीलाई छायाँछबी सम्मान अर्पण गरिएको हो ।

बरिष्ठ कलाकार, लेखक तथा निर्देशक मोहन निरौला, निर्देशक राजेन्द्र उप्रेति, अभिनेत्री तथा लेखिका सोभिता सिम्खडा र संगीतकार सन्तोष श्रेष्ठ निर्णायक रहेको अवार्डको सिनेमा छनौट समिति निर्णायकका रुपमा निर्देशक तथा सम्पादक सुरेन्द्र पौडेल, मोडल मञ्जिता केसी, गायक तथा संगीतकार ओम सुनार, सम्पादक तथा कलरिष्ट जीवन थापा, मोडल सुदिप श्रेष्ठ र गायक तथा संगीतकार राज सागर रहेका थिए ।