रेखा र पुजालाई लिएर ‘उपहार’ निर्देशन गर्दै ज्ञानेन्द्र देउजा

रेखा र पुजालाई लिएर ‘उपहार’ निर्देशन गर्दै ज्ञानेन्द्र देउजा

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – निर्देशक ज्ञानेन्द्र देउजाले अभिनेत्रीद्वय रेखा थापा र पूजा शर्मालाई लिएर निर्माण गर्न लागेको सिनेमाको नाम ‘उपहार’ राखेका छन् । मंगलबार विकास बोर्डबाट निर्माण इजाजत लिएपछि दुई अभिनेत्री पहिलो पटक एकसाथ काम गर्न लागेको ‘उपहार’को थिम पोस्टर सार्वजनिक गर्दै निर्माण टिमले सिनेमाको नाम सार्वजनिक गरेको हो ।

‘उपहार’ नाममा दोस्रो पटक निर्माण हुन् लागेको हो । यसअघि यो नाममा स्वर्गिय निर्देशक शिव रेग्मीले सिनेमा निर्माण गरेका थिए । भदौमा छायांकनमा जाने सिनेमालाई रेखा स्वयंले निर्माण गर्नेछिन् । रेखा र पूजाका अलवा सिनेमामा अर्की एक अभिनेत्रीको पनि मुख्य भूमिका रहनेछ । केही दिनमा अर्की अभिनेत्रीको नाम सार्वजनिक गर्ने तयारीमा निर्माण टिम छ ।

निर्देशक ज्ञानेन्द्र देउजा गत वर्षको सुपरहिट सिनेमा ‘झिँगेदाउ’ पछि ‘उपहार’को निर्देशन गर्दैछन् । सिनेमा सामाजिक विषयवस्तुमा निर्माण हुन लागेको जानकारी निर्देशक देउजाले दिए । सिनेमामा तीनजना अभिनेत्री नै एक्सन अवतारमा पनि प्रस्तुत हुनेछन् । अभिमन्यू निरवीको पटकथा तथा संवाद रहेको सिनेमाको कथा सुलक्षण भारतीको हो ।

काठमाडौं आसपासमा छायांकन हुने सिनेमाको सोमबार गुरु पुर्णिमाको अवसर पारेर पहिलो गीत रेकर्डिङ पनि गरिएको थियो । गीतमा एलिना चौहान र बाबुल गिरीले स्वर दिएका छन् । यसअघि निर्देशक देउजाको अभिनेत्री थापासँग ‘देवर बाबु’, ‘हिफाजत’, ‘खुसी’ लगायतको सिनेमामा काम गरेका थिए ।