अभिनेता तथा रक गायक रोविन तामाङको निधन

अभिनेता तथा रक गायक रोविन तामाङको निधन

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – अभिनेता तथा रक गायक रोविन तामाङको निधन भएको छ । तामाङको फेसबुकबाट उनको निधनको जानकारी गराइएको हो । फेसबुकमा लेखिएको छ, ‘दुखद समाचार । रोविनको आज निधन भएको छ । हामी तपाईहरुलाई जानकारी गराउँदै रहनेछौं ।’ बुढानिलकण्ठस्थित निजी निवासमा उनको निधन भएको थियो ।

ब्रिटिश सेनामा सक्रिय परिवारको कान्छो सन्तानको रुपमा उनको जन्म सिंगापुरमा भएको थियो । सिंगापुरमै अध्ययन गरेका उनी बाल्यकालदेखि नै अमेरिकी गायक तथा संगीतकार जिमी हेन्ड्रिक्स र लन्डनको अंग्रेजी रक ब्यान्ड डीप पर्पलबाट प्रेरित थिए । जब उनी १९८० मा टोरन्टोको हम्बर कलेजमा पढिरहेका थिए, त्यसबेला उनले एक ब्यान्डमार्फत् विभिन्न ठाउँमा प्रस्तुती दिएका थिए ।

सन् १९९६ मा नेपाल आएका रोविनका ‘दम मारो दम’, ‘कल्पना’, ‘केटा केटी’, ‘मेरो माया’, ‘ठीकै छ’ जस्ता कयौं गीत युवापुस्तामाझ चर्चित छन् । उनी अभिनयमा समेत अब्बल मानिन्थे । उनले ‘जय पर्शुराम’, ‘बादशाह जुट’, ‘चिसो एष्ट्रे’, मुखौटा’, ‘छड्के’, ‘नाका’, ‘वान वे’ लगायत एक दर्जन बढी नेपाली सिनेमामा अभिनय गरेका छन् । विशेषगरी उनी भिलेनको भूमिकामा देखिने गरेका थिए ।

रोविनले हिन्दी वेब सिरिज ‘दि लास्ट आवर’मा समेत अभिनय गरेका छन् । उक्त सिरिज अमेजन प्राइममा उपलब्ध छ । सिरिजमा उनले भिलेनको भूमिका निभाएका छन् । उनी अभिनीत पछिल्लो रिलिज सिनेमा ‘छड्के २’ हो । उनको निधनको खबरले संगीत र सिनेमा क्षेत्र स्तब्ध बनेको छ ।