सरोज खनाल निर्देशित ‘बगान’ एकल महिलालाई निःशुल्क देखाइने

सरोज खनाल निर्देशित ‘बगान’ एकल महिलालाई निःशुल्क देखाइने

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – आगामी असार २९ गतेबाट प्रदर्शनमा आउने सिनेमा ‘बगान’का अभिनेता तथा निर्देशक सरोज खनालले एकल महिलालाई निःशुल्क सिनेमा देखाउने घोषणा गरेका छन् । बुधबार आयोजित सिनेमाको ट्रेलर सार्वजनिक कार्यक्रममा उनले सिनेमाको कथावस्तु पनि एकल महिलामा आधारित भएकाले उनीहरुको सम्मानका लागि यो निर्णय गरिएको निर्देशक खनालले बताए ।

सिनेमाको ट्रेलर सार्वजनिक कार्यक्रममा समारोहमा उपसभामुख इन्दिरा राना, माइती नेपालकी अध्यक्ष अनुराधा कोइराला, कोशी प्रदेशसभाकी सांसद मीना श्रेष्ठ, सञ्चारकर्मी बबिता बस्नेत, अभिनेत्री करिश्मा मानन्धरकी आमा कोमलकुमारी केसी र अभिनेत्री पूजा शर्माकी आमा दुर्गा सापकोटालाई सम्मान गरियो ।

सिनेमाले झन्डै २० मिनेट एकल महिलालाई शैक्षिक रुपमा सशक्त बनाउनुपर्छ भन्ने कथावस्तु पनि पेश गर्ने अभिनेता खनालले खुलाए । ‘सिनेमामा मैले आमालाई शिक्षित बनाएको छु । आमा शिक्षित हुँदा छोरी पनि शिक्षित हुन्छिन् । २ घण्टाको सिनेमामा २० मिनेट त शिक्षाकै बारेमा छ । सिनेमा पूर्ण रुपमा शिक्षाकै बारेमा छ,’ उनले भने ।

सिनेमाको ट्रेलर सार्वजनिक कार्यक्रममा आफ्नो भूमिकाबारे चर्चा गर्दै अभिनेत्री मानन्धरले समाज परिवर्तनका लागि आफूले ‘बगान’मा यो भूमिकामा काम गरेको बताइन् । ‘समाज परिवर्तनमा सानो भूमिका खेले पनि यसलाई सिनेमाको उपलब्धि मानिनेछ,’ मानन्धरले भनिन्, ‘यसमा आमाको भूमिकालाई नजिकबाट नियाल्ने प्रयास गरेका छौं ।’ सिनेमाको विषयवस्तु अत्यन्त गहन रहेको अभिनेत्री मानन्धरको दाबी छ ।