अभिनेता सौगात मल्ल ‘कोतपर्व’को मुख्य भुमिकामा अनुबन्धित

अभिनेता सौगात मल्ल ‘कोतपर्व’को मुख्य भुमिकामा अनुबन्धित

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – पछिल्लो समयका अत्याधिक व्यस्त अभिनेता हुन् सौगात मल्ल । बैशाखमा ‘भष्मे डन’को छायांकन सकेर जेष्ठमा ‘अगस्त्य’को पहिलो चरणको छायांकन सकेका सौगात आगामी असार २५ गतेबाट ‘हात्तीछाप’को छायांकन सुरु गर्दैछन् ।

‘हात्तीछाप’को छायांकन सकिएसँगै उनी १० केजी तौल बढाएर ‘अगस्त्य’को दोस्रो चरणको छायांकन सुरु गर्नेछन् । भाद्रबाट रामबाबु गुरुङको निर्देशनमा निर्माण हुने सिनेमा ‘डिग्री माइला’को छायांकन सौगात जोडिनेछन् । यसैबीच उनले रिमेश अधिकारीको निर्देशनमा निर्माण हुने सिनेमा ‘कोतपर्व’ पनि साइन गरेका छन् ।

बुधबार उनी ‘कोतपर्व’मा अनुबन्धित भएका हुन् । उनले कथावस्तु र चरित्र रुचाएपछि सिनेमा साइन गरेका हुन् । ‘कोतपर्व’ छायांकनका लागि उनले आगामी चैतको समय दिएका छन् । नेपाललाई १०४ वर्षे जहानियाँ निरंकुश राणा शासनमा धकेलेको कोतपर्व (नेपालको इतिहासकै दोश्रो ठूलो हत्याकाण्ड)मा आधारित भएर सिनेमा निर्माण हुन लागेको हो ।

‘कोतपर्व’ले जंगबहादुर राणालाई शक्तिशाली शासकका रूपमा उभ्याएको थियो । पछि उनी नेपालका प्रधानमन्त्री समेत बने । कोतपर्वमा ११ चौतारिया, ६ पाण्डे, ३ थापा र ११ क्षेत्रीय भारादारको विभत्स हत्या भएको थियो । सौगातलाई जंगबहादुरको भूमिकाका लागि ‘कोतपर्व’मा अनुबन्धित गरिएको छ ।

रिमेश अधिकारी फिल्म्स प्रोडक्सन र श्रीत फिल्म्स एण्ड इन्टरटेनमेन्टको संयुक्त ब्यानरमा बन्न लागेको सिनेमाको पोस्ट प्रोडक्सनको सम्पूर्ण काम मुम्बईको स्टुडियोमा गरिने निर्देशक अधिकारीले जानकारी दिए ।