‘हात्तीछाप’को छायांकन सुरु, दयाहाङ र बेनिशाले गरे क्यामेरा पूजा

‘हात्तीछाप’को छायांकन सुरु, दयाहाङ र बेनिशाले गरे क्यामेरा पूजा

द सिनेमा टाइम्स
210
Shares

द सिनेमा टाइम्स, काठमाडौं – सिमोस सुनुवारको निर्देशनमा निर्माण हुने सिनेमा ‘हात्तीछाप’को छायांकन सुरु गरिएको छ । आइतबार बालकुमारीस्थित एक ग्यारेजमा क्यामेरा, स्क्रिप्ट र क्ल्याप पूजा गर्दै सिनेमाको छायांकन थालिएको हो । सिनेमाको छायांकन १५ दिन काठमाडौं र १५ दिन पोखरामा हुने जानकारी निर्माण टिमले दिएको छ ।

किरण नेपालीको प्रस्तुती रहेको ‘हात्तीछाप’मा दयाहाङ राई, सौगात मल्ल, विल्सन विक्रम राई, गौरव पहारी, उपासना सिंह ठकुरी, बुद्धि तामाङ, विजय बराल, कमलमणी नेपाल, राजन खतिवडा, पुस्कर गुरुङ, प्रकाश घिमिरेलगायतको पनि अभिनय रहनेछ । छायांकन सुरु भएसँगै सिनेमामा अभिनेत्री बेनिशा हमाल जोडिएकी छन्न्। निर्देशक सुनवारसँग उनले यसअघि ‘झ्यानाकुटी’मा पनि सहकार्य गरेकी थिइन् ।

सामाजिक कथावस्तुलाई कमेडी तरिकाले निर्माण हुने सिनेमालाई प्रदीप भारद्वाजले लेखेका हुन् । सुशन प्रजापति सिनेमाको छायांकन गर्नेछन् । साउनभित्र छायांकन पूरा गरेर सिनेमालाई आगामी कात्र्तिकमा प्रदर्शन गर्ने तयारीमा निर्माण टिम रहेको छ । सिनेमाको निर्माण कम्पनी रेड बर्ड प्रोडक्सन हो ।

अभिनेता दयाहाङ राईसँग पहिलो पटक काम गर्न पाउँदा अत्यन्तै उत्साहित रहेको अभिनेत्री बेनिशा हमालले बताइन् । त्यस्तै, अभिनेता राईले सिनेमाको कन्सेप्ट आफूलाई निकै मन परेकाले काम गर्न तयार भएको बताए । उनी ‘हात्तीछाप’को छायांकन सकिनसाथ सिनेमा ‘राजागञ्ज’मा व्यस्त हुँदैछन् । शनिबार साँझ मात्र उनी केही दिन जनकपुरमा यो सिनेमाको वर्कसप गरेर काठमाडौं फर्किएका थिए ।