चरित्र हत्या गर्ने फेसबुक एकाउन्टविरुद्ध आँचलले दिइन् साइबर ब्युरोमा उजुरी

चरित्र हत्या गर्ने फेसबुक एकाउन्टविरुद्ध आँचलले दिइन् साइबर ब्युरोमा उजुरी

द सिनेमा टाइम्स
427
Shares

द सिनेमा टाइम्स, काठमाडौं – शनिबार अभिनेत्री आँचल शर्माले आफ्नो चरित्रमा आँच आउने ढंगले समाचार पोस्ट गरेको भन्दै दुई फेसबुक एकाउन्टविरुद्ध प्रहरीको साइबर ब्युरोमा उजुरी दिएकी छन् ।

आवश्यक कानूनी कार्वाही गर्न भन्दै उनले ती दुई फेसबुक पेजविरुद्ध निवेदन दिएकी हुन् । आँचल पति उदिपसँगै उजुरी गर्न शनिबार बेलुका साइबर ब्यूरोको कार्यालय पुगेकी थिइन् ।

आफ्नो अनुमतिविना फोटोसहित चरित्रमा आँच आउने समाचार लेखी पोस्ट गर्ने व्यक्ति पहिचान गरी कानून बमोजिम कार्वाही गरि पाउँ भनि आँचलको निवेदनमा लेखिएको छ । उनले निवेदनसँगै उक्त फेसबुकमा पोस्ट भएका भिडियो, अडियो, तस्वीर, अक्षर स्क्रिनसट पनि पेश गरेकी छन् ।

चरित्र हत्या हुने गरि लगातार सामाजिक संजालबाट पोस्ट हुन थालेपछि आफूहरुले न्यायका लागि साइबर ब्यूरो पुगेको आँचलका श्रीमान उदिपले बताए । आँचलले पनि आफूलाई यातना दिएर सामाजिक संजालमा मानसिक स्वास्थ्यको भाषण दिन बन्द गर्न आग्रह गरेकी छन् ।

अभिनेता दयाहाङ राइको बिषयमा आँचल शर्माले बोल्दै नबोलेको कुरालाई अनावश्यक रुपमा प्रचार गरिएपछि उनी साइबर ब्युरो पुगेकी हुन् । केही सामाजिक संजालका पेजहरुमा आँचलले दयाहाङ राइलाई त्यसले मात्र मन पराउँछ, जो अशिक्षित र मुर्ख छ भन्दै अन्तरवार्ता दिएको भन्दै सामाजिक संजालमा गलत पोष्ट राखेका थिए । जसलाई आम मानिसहरुले वास्तविक जस्तै वुझेर प्रतिक्रिया दिइरहेका छन् ।

यसैबीच अभिनेता दयाहाङ राईले यस विषयमा फेसबुक पोस्ट गर्दै तथ्य नबुझी कुनै कलाकारलाई पनि गाली गलौज नगर्न आग्रह गरेका छन् ।