गायक तथा अभिनेता रविन तामाङलाई राष्ट्रिय झण्डा ओढाएर श्रद्धाञ्जली अपर्ण

गायक तथा अभिनेता रविन तामाङलाई राष्ट्रिय झण्डा ओढाएर श्रद्धाञ्जली अपर्ण

द सिनेमा टाइम्स
1.4k
Shares

द सिनेमा टाइम्स, काठमाडौं – रक गायक तथा अभिनेता रविन तामाङप्रति मन्त्री, नेता, शुभेच्छुक तथा कलाकर्मीले अन्तिम श्रद्धाञ्जली व्यक्त गरेका छन् । नेपाल संगीत तथा नाट्य एकेडेमीमा अन्तिम श्रद्धाञ्जलीका लागि राखिएको उनको पार्थिव शरीरमा संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले राष्ट्रिय झण्डा ओढाए । उपस्थित अन्य कलाकर्मीहरुले फूलमाया चढाएर तामाङप्रति श्रद्धाञ्जली व्यक्त गरे ।

मन्त्री किराँतीले कार्यक्रममा श्रष्टाहरुको निधनपछि श्रद्धाञ्जलीका लागि राख्ने व्यवस्थित ठाउँ पनि नभएको भन्दै आफ्नै कार्यकालमा व्यवस्थित भवन बनाउने बताए । अन्तिम श्रद्धाञ्जली अपर्ण कार्यक्रममा सरकारको प्रवक्ता समेत रहेकी सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले कलाक्षेत्रले उज्ज्वल नक्षत्र गुमाएको भन्दै सरकारको तर्फबाट श्रद्धाञ्जली व्यक्त गरिन् ।

कांग्रेस महामन्त्री गगन थापाले तामाङ समकालीन पुस्ताको चर्चित गायक भएको भन्दै उनलाई गुमाउनुपर्दा दुःखी भएको बताए । गायक तामाङको सम्मानमा उनका दुई चर्चित गीतहरु केटाकेटी र गुलाबको गाएर ट्रिब्यूट गरिएको थियो । श्रद्धाञ्जली दिन फ्यान र कलाकर्मी बिहानैदेखि नक्सालस्थित एकेडेमीको परिसरमा पुगेका थिए ।

संगीतकार संघ र एकेडेमीको आयोजनामा श्रद्धाञ्जली कार्यक्रम आयोजना गरिएको संगीतकार चेतन सापकोटाले जानकारी दिए । रविन तामाङको पार्थिव शरीरलाई आजै शोभा भगवतीमा अन्तिम संस्कार गरिनेछ । गत मंगलबार तामाङ बुढानिलकण्ठस्थित निवासमा मृत भेटिएका थिए ।