चेक रिपब्लिकमा खगेन्द्र र मेनुका अभिनित ‘गुराँस’ले जित्यो जुरी अवार्ड

चेक रिपब्लिकमा खगेन्द्र र मेनुका अभिनित ‘गुराँस’ले जित्यो जुरी अवार्ड

द सिनेमा टाइम्स
112
Shares

द सिनेमा टाइम्स, काठमाडौं – अभिनेता खगेन्द्र लामिछाने र अभिनेत्री मेनुका प्रधानको मुख्य भुमिका रहेको नेपाली सिनेमा ‘गुराँस’ले युरोपेली मुलुक चेक रिपब्लिकमा आयोजित ‘दी कार्लोभी भारी इन्टरनेसनल सिनेमा महोत्सव’मा जुरी अवार्ड जितेको छ । गत बुधबार वर्ल्ड प्रिमियर भएको सिनेमाले प्रोक्सिमा स्पेसल जुरी पुरस्कार जितेको हो ।

हराएको कुकुरको खोजीमा निस्किएकी १० वर्षीय बालिकाको आँखाबाट वाचन गरिएको सिनेमाले दार्जिलिङको बदलिँदो आर्थिक र सामाजिक सम्बन्धको कथा प्रस्तुत गर्छ । दुई पुस्ताका चरित्रमार्फन् छोरी र आमाबुबाको फरक फरक चिन्तालाई उजागर गर्ने सिनेमालाई सौरभ राईले निर्देशन गरेका हुन् ।

युरोपको प्रतिष्ठित अवार्ड जित्नु आफ्ना लागि गर्वको क्षण भएको निर्देशक राईले बताएका छन् । ‘स्क्रिनिङमा पनि दर्शक तथा जुरीले रुचाएको महसुस गरेका थियौँ । अन्तमा अवार्ड जित्दा साँच्चिकै खुसी लागेको छ,’ उनले भने ।

मेनुका प्रधान पनि यही सिनेमाको वर्ल्ड प्रिमियरमा सहभागी हुन चेक पुगेकी थिइन् । उनले अन्तर्राष्ट्रिय महोत्सवमा आफ्नो पहिलो अनुभव हुने भन्दै महोत्सवमा धेरैभन्दा धेरै सिनेमा हेर्ने योजना रहेको बताएकी थिइन् ।

‘गुराँस’लाई लोआइक्यू प्रडक्सनका अलवा रामकृष्ण पोखरेल र सञ्जय गुलाटीले निर्माण गरेका हुन् । सिनेमामा तुलसी खवासले ‘गुराँस’को रुपमा शीर्ष भूमिका निर्वाह गरेकी छन् । सिनेमाको प्राविधिक काम मुम्बईमा गरिएको थियो ।

सुबल केआरले छायांकन गरेको सिनेमालाई निर्देशक राई र अंकिता पुरकायस्थले सम्पादन गरेका हुन् । अंकिता सिनेमाको साउन्ड डिजाइनर पनि हुन् । नेटफ्लिक्स सिरिज ‘बेताल’, ‘टाइपराइटर’, ‘कोटा फ्याक्ट्री’ र अमेजन प्राइमबाट प्रसारण भएको ‘पञ्चायत’ मा पनि उनले काम गरेकी छिन् ।