फुलपातिमा ‘पशुपति प्रसाद २ : भष्मे डन’ विश्वभर एकसाथ रिलिज हुने

फुलपातिमा ‘पशुपति प्रसाद २ : भष्मे डन’ विश्वभर एकसाथ रिलिज हुने

द सिनेमा टाइम्स
413
Shares

द सिनेमा टाइम्स, काठमाडौं – दशैंको फुलपातिको अवसरमा प्रदर्शनमा आउने तयारीमा रहेको सिनेमा ‘पशुपति प्रसाद २ : भष्मे डन’ विश्वभरका सिनेमा घरमा एकसाथ रिलिज हुने भएको छ । सोमबार टुकी आर्टस्ले एक विज्ञप्ती सार्वजनिक गर्दै सिनेमा फुलपातीमा नेपालसहित विश्वभरका धेरै देशमा सिनेमा रिलिज गर्ने कर्न्फम भएको उल्लेख गरिएको छ ।

सिनेमाको विदेश रिलिजको सम्पुर्ण जिम्मा सेभेन सिज प्रालीले लिएको छ । सार्वजनिक विज्ञप्ती अनुसार सिनेमा अमेरिकामा करिब १ हजारदेखि १२ सय शो, युकेमा ५ सय शो, अष्ट्रेलियामा ५ सय शो, क्यानडामा १ सय ५० शो, मध्ये पूर्वका देशहरुमा करिब साढे ७ सय शो, जपानमा १ सय शो, युरोपका विभिन्न देशमा ५० शो र भारत, दक्षिण कोरिया, मलेसिया, इराक र हङकङमा सिनेमा रिलिज पक्का भैसकेको छ ।

सिनेमाका निर्माता तथा लेखक खगेन्द्र लामिछानेले ‘पशुपति प्रसाद २: भष्मे डन’ले नेपाली सिनेमाको अन्तराष्ट्रिय बजार बिस्तारमा ठुलो भुमिका खेल्ने विश्वास व्यक्त गरेका छन् । उनी भष्मे डनको यति ठुलो अन्तराष्ट्रिय रिलिजले नेपाली सिनेमा उद्योगलाई नै माथि उठान भुमिका खेल्ने बताउँछन् । यति ठुलो जिम्मेवारी सम्हाल्ने सेभेन सिज प्राली र टुकी आर्टस्बीच नेपाली सिनेमाको पर्वद्धनको लागि आगामी दिनमा पनि सहकार्य जारी रहने उनको दाबी छ ।

दीपेन्द्र के खनालको निर्देशनमा निर्माण भएको सिनेमामा विपिन कार्की, सौगात मल्ल, स्वस्तिमा खड्का, प्रकाश घिमिरे, रविन्द्र सिंह बानियाँ, मिस्श्री थापा, सजन थापा मगर थिए । सिनेमालाई खगेन्द्र लामिछानेले लेखेका हुन् । सिनेमाको निर्माता पनि उनी स्वयं हुन् ।

टुकी आर्टस्को ब्यानरमा निर्माण भएको सिनेमामा निरज कँडेलको डिओपी, कृष्ण थापाको छायांकन, दीर्घ खड्काको सम्पादन, कृष्ण भारद्वाज तथा सुभाष भुषालको संगीत रहने छ । सिनेमा विदेशका ठुला र नाम चलेका मल्टिप्पलेक्स चेनहरुमा पहिलो पटक रिलिज हुन लागेको हो ।