‘बगान’ले नेपाली सिनेमा क्षेत्रमा क्रान्ति ल्याउँछ : करिष्मा मानन्धर

‘बगान’ले नेपाली सिनेमा क्षेत्रमा क्रान्ति ल्याउँछ : करिष्मा मानन्धर

द सिनेमा टाइम्स
315
Shares

द सिनेमा टाइम्स, काठमाडौं – असार २९ गतेबाट प्रदर्शनमा आउने सिनेमा ‘बगान’को टिम मोफसलका प्रमुख शहरमध्ये तीन वटा चितवन, बुटवल र पोखरा पुगेको छ । बुधवार ग्राण्ड प्रिमियर इभेन्ट आयोजना गर्ने तयारी गरेको निर्माण टिम अभिनेता तथा निर्देशक सरोज खनालसहित अभिनेत्री करिश्मा मानन्धर, डेव्यु अभिनेत्री प्रमिला कार्की र निर्माता तथा गीतकार सुरेश वाग्लेको टिम मोफसल यात्रामा निस्किएको थियो ।

शनिवार चितवन पुगेको सिनेमाको टिम आइतवार साँझ बुटवल, पोखरा हुँदै काठमाडौँ फर्किएको छ । सिनेमा प्रदर्शनका लागि नेपालका हरेक कुनाकाप्चा पुग्ने इच्छा भएपनि समयअभावका कारण सम्भव नभएको निर्देशक तथा अभिनेता खनालले बताए ।

प्रचार यात्रामा आइतवार पोखराको पत्रकार भेटघाट सकेपछि निर्देशक खनालले भने, ‘मेरो चाहना नेपालका हरेक कुनाकाप्चामा पुग्ने थियो । निर्देशक पनि आफैँ भएको कारण सिनेमाको प्राविधिक काममा बढि समय दिनुपरेको कारण सिनेमाको लागि तीनवटा प्रमुख स्टेशनहरूमा मात्र पुग्न सकियो ।’

उपत्यका बाहिर भएका पत्रकार सम्मेलनमा ‘बगान’को बिषयवस्तु र हेर्नुपर्ने कारणहरूबारे चर्चा भएका छन् । शनिवार चितवनमा पत्रकार भेटघाट गर्दै निर्देशक खनालले हरेक घरका महिलाको दुःख, समस्या र त्यसको समाधान सहित सिनेमा निर्माण गरिएको बताए ।

अभिनेत्री करिश्मा मानन्धरले ‘बगान’ले नेपाली सिनेमा क्षेत्रमा क्रान्ति गर्ने बताइन् । डेव्यु अभिनेत्री प्रमिला कार्कीले खनाल र मानन्धरसँग जोडिएर काम गर्न पाउँदा धेरै सिक्ने अवसर मिलेको र बगान आफ्नो लागि विश्वविद्यालय सावित भएको उल्लेख गरिन् ।

चितवनमा गरिएको पत्रकार सम्मेलन पश्चात ‘बगान’ टिमले भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहालसँग भेट गरेको थियो । सिनेमा हेर्न इच्छा जाहेर गर्दै मेयर दाहालले सिनेमाबारे बिशेष चासो राखेको निर्माता वाग्लेले बताए । उनका अनुसार बगानले उठान गरेको विषयको बारेमा जानकारी लिदै यी र यस्तै महिलासँग जोडिएको विषयलाई सिनेमामार्फत समाजमा ल्याउनु पर्ने बताइन् ।

शनिवार नै भएको बुटवलको पत्रकार सम्मेलनमा अभिनेता तथा निर्देशक खनालले आफ्नो विगतलाई सम्झना गरेका थिए । उनले ३० वर्ष अघि सारंगीको प्रचारको लागि आफु बुटवल आएको सम्झना गरे । त्यहाँ खनालले ‘बगान’ नेपाली समाजको यथार्थ चित्रण भएको र हरेक महिलाको हक अधिकार चाहनाको पक्षमा समाज हिड्न नसक्दा यस्तो कथा जन्मिएको बताए ।

अभिनेत्री मानन्धरले सिनेमा हरेक समाजका कुरिती र कुसंस्कृति विरुद्धको आवाज भएको बताइन् । समाजमा व्याप्त नारीको बेदनालाई टपक्क टिपेर सिनेमाको कथा बुनिएको डेव्यु अभिनेत्री कार्कीले खुलाइन् ।

पोखराको पत्रकार भेटघाट कार्यक्रममा निर्देशक खनालले हाम्रो पितृसतात्मक समाजमा अझै पनि एकल महिलालाई हेर्ने दृष्टिकोणमा परिवर्तन नभएको बताउँदै एकल महिलाका कथालाई दबाएर राख्न हुदैन भन्ने लागेर नै ‘बगान’ निर्माण गरेको बताए । उनले समाजमा पछाडी परेको विषयलाई अगाडि ल्याउने उद्देश्य सहित सिनेमा निर्माण गरिएको खुलाए ।

अभिनेत्री मानन्धरले ‘बगान’ आफ्नो लागि महत्वपूर्ण सिनेमा भएको उल्लेख गरिन् । सिनेमा समाजको ऐना भएकाले समाज बुझ्न र आफ्नोपनको महशुस गर्ने गरी सिनेमा निर्माण गरिएको छ । काठमाडौं बाहिरका दर्शक र सञ्चारकर्मीसँग प्रत्यक्ष भेटेर साक्षात्कार गर्ने उद्देश्यले प्रदर्शनकै सातामा समेत भ्रमण गरेको निर्माता सुरेश वाग्लेले बताए ।

उपत्यका बाहिरका पत्रकार भेटघाटमा एकल आमाले नि:शुल्क हेर्न पाउने बिषयमा पनि चर्चा भएको थियो । सिनेमा निर्माण टिमले देशभर नै एकल महिलाहरूलाई निःशुल्क सिनेमा देखाउने घोषणा गरिसकेको छ । यसको लागि सिनेमा हलमा सरकारले जारी गरेको एकल महिलाको परिचयपत्र देखाउनुपर्नेछ ।

सिनेमामा सरोज खनाल, करिश्मा मानन्धर, आकाश श्रेष्ठ, डेव्यु अभिनेत्री प्रमिला कार्कीका अलवा नीर शाह, बसुन्धरा भुषाल र मिथिला शर्मा लगायतको अभिनय रहेको छ । स्वप्निल नीरवको कथामा निर्माण भएको सिनेमाबाट अभिनेता खनालले निर्देशनमा र अभिनेत्री कार्कीले अभिनयमा डेव्यु गरेका हुन् ।

नेपाली वेबसाइट डटकमको प्रस्तुती रहेको ‘बगान’का निर्माता सुरेश वाग्ले तथा कार्यकारी निर्माता विनोद मानन्धर हुन् । सिनेमामा गौरीशंकर धुजुको डिओपी, उत्सव दाहाल र नारायण जिसीको छायांकन, सन्देश शाहको सम्पादन, समिर मियाँको भिएफएक्स, रेनिश फागोको कलर करेक्शन, सुजिल कर्माचार्यको ब्याकराउन्ड स्कोर, मुकेश शाहको साउन्ड मिक्सिंग, हरि लम्साल र सुवास भुषालको संगीत रहेको सिनेमाका गीतमा अञ्जु पन्त, सुगम पोखरेल र अस्मिता अधिकारीको स्वर छ ।