नेपाल-अफ्रिका सिनेमा महोत्सवमा ‘प्रकाश’ सर्वोत्कृष्ट सिनेमा, नीता सर्वोत्कृष्ट अभिनेत्री

नेपाल-अफ्रिका सिनेमा महोत्सवमा ‘प्रकाश’ सर्वोत्कृष्ट सिनेमा, नीता सर्वोत्कृष्ट अभिनेत्री

द सिनेमा टाइम्स
1.9k
Shares

द सिनेमा टाइम्स, काठमाडौं – नेपाल-अफ्रिका सिनेमा महोत्सव-२०२३ सम्पन्न भएको छ । नेपाली सिनेमातर्फको प्रतिस्पर्धामा दिनेश राउत निर्देशित ‘प्रकाश’ सर्वोत्कृष्ट बन्दा अफ्रिकी सिनेमातर्फको प्रतिस्पर्धामा लिसिनियो एजेभेदो निर्देशित मोजाम्बिकको ‘द ट्रेन अफ साल्ट एण्ड सुगर’ले सर्वोत्कृष्ट सिनेमा घोषणा गरियो ।

विजयी सिनेमालाई नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्वउपकुलपति शम्भुजीत बास्कोटासहितले अवार्ड प्रदान गरेका थिए । अफ्रिकी प्रतिस्पर्धातर्फ छोटो सिनेमा ‘या’बाट इसी ह्यामोहले जुरी अवार्ड प्राप्त गरिन् । उत्कृष्ट अफ्रिकी डकुमेन्ट्री विधामा जिम्बाबेको ‘कलिङ द डेड’ सर्वोत्कृष्ट बन्यो ।

नेपाली प्रतिस्पर्धातर्फ सिनेमा ‘प्रकाश’बाट विकास सुवेदी सर्वोत्कृष्ट पटकथा लेखक, सोही सिनेमाको पाश्र्व गीत ‘मान्छे मान्छे’बाट एलिश कार्कीले सर्वोत्कृष्ट संगीतकारको अवार्ड उचाले । सर्वोत्कृष्ट अभिनेताको अवार्ड ‘प्रेमगञ्ज’बाट तेज गिरीले जिते । ‘भाग्य’बाट नीता ढुंगानाले सर्वोत्कृष्ट अभिनेत्रीको अवार्ड उचालिन् ।

रोशनकुमार श्रेष्ठले ‘भाग्य’बाटै सर्वोत्कृष्ट निर्देशक, अभिनेता यशराज गराचले जुरी अवार्ड, सुनिल कटुवालले सह-अभिनेताको अवार्ड जितेका छन् । सह-अभिनेत्रीतर्फ सिनेमा ‘परिवार’बाट बसुन्धरा भुसाल, हुक्काबाट कृष्णबहादुर थापालाई छायांकन, सिनेमा परिवर्तनबाट वीरेन्द्र भाटलाई सम्पादन, छोटो सिनेमा विधातर्फ प्रद्युम्न मिश्र निर्देशित ‘दुविधा’, डकुमेन्ट्री विधातर्फ रोशनी केसी निर्देशित ‘समर्पण’, उत्कृष्ट विद्यार्थी सिनेमा विधामा नेपाल सिनेमा क्याम्पसका सामलकुमार बज्राचार्यले ‘हावाम्यान’बाट प्राप्त गरे ।

कलेज अफ जर्नालिजम एण्ड मास कम्युनिकेसनको आयोजना तथा चलचित्र विकास बोर्ड र लक्षण क्रियसनको सह-आयोजनामा महोत्सव भएको हो । यसपटकको संस्करणमा ११ अफ्रिकी मुलुकका १२ गरी कुल २२ सिनेमाको स्क्रिनिङ गरियो । महोत्सवको दोस्रो दिन आयोजित सर्ट सिनेमाको अन्तर्राष्ट्रिय बजार विषयमा भएको सिनेमाकर्मीबीच अन्तरक्रिया समेत गरिएको थियो ।

महोत्सव समारोहमा नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्वउपकुलपति तथा संगीतकार बास्कोटाले यस्ता अन्तर्राष्ट्रिय महोत्सवलाई सरकारले विशेष सहयोग गर्नुपर्ने बताए । सिनेमा सोसाइटीका अध्यक्ष कृष्ण मल्लले एउटा फरक अन्तर्राष्ट्रिय सिनेमा महोत्सवका रुपमा नेपाल-अफ्रिका सिनेमा महोत्सव भएको बताए ।

निर्माता संघका अध्यक्ष नवल खड्का, निर्देशक समाजका अध्यक्ष जनकदीप पराजुली, कलाकार संघका महासचिव सविन श्रेष्ठ, कोशी प्रदेशकी सांसद मीना श्रेष्ठ लगायतले नेपालमा बसेर सिनेमा प्रेमीलाई अफ्रिकी सिनेमाको स्वाद महोत्सवले पस्किएको बताए । आयोजक संस्था कलेज अफ जर्नालिजमकी प्रिन्सिपल तथा महोत्सव निर्देशक मञ्जु मिश्रले अफ्रिकाले आफूहरुलाई बेवास्ता गर्दा पनि नेपालमा महोत्सव गर्दै आइरहेको बताइन् ।