प्रिमियरमा रुचाइयो सरोज खनाल निर्देशित ‘बगान’

प्रिमियरमा रुचाइयो सरोज खनाल निर्देशित ‘बगान’

द सिनेमा टाइम्स
28
Shares

द सिनेमा टाइम्स, काठमाडौं – भोली शुक्रवार रिलिज हुने नेपाली सिनेमा ‘बगान’को प्रिमियर बुधबार राजधानीकको एक हलमा सम्पन्न भएको छ । सिनेमाको प्रिमियरमा सिनेमाकर्मी, शुभचिन्तक, राजनीतिज्ञ र पत्रककारहरूको बाक्लो उपस्थिती रहेको थियो ।

सिनेमा हेर्न उपसभामुख इन्दिरा राना, निर्देशकहरु लक्ष्मीनाथ शर्मा, नरेश पौडेल, ज्ञानेन्द्र देउजा, नवल नेपाल, शोभित बस्नेत, ऋषि लामिछाने, अभिनेताहरू कृष्ण मल्ल, अशोक शर्मा, रमेश उप्रेती, मुकुन भुषाल, गायकहरू विकास राणा, सत्यराज आचार्य, स्वरुपराज आचार्य, गायिका देविका बन्दना, सुनिता दुलाल, अभिनेत्री तथा निर्देशक दीपाश्री निरौला, पूर्व मूख्य सचिव भिम उपाध्याय, लेखकहरु प्रदिप भारद्वाज, विकास सुवेदी, कोशी प्रदेश सभा सदस्य मीना श्रेष्ठ लगायतको उपस्थिती रहेको थियो ।

सिनेमा हेर्ने अधिकांशले केहि दृश्य र संवादले भावुक बनाएको प्रतिक्रिया दिए भने यही सिनेमाबाट डेव्यु गरेकी प्रमिला कार्कीको अभिनयको तारिफ गरे । अभिनेत्री करिश्मा मानन्धरले गम्भीर भूमिकामा गरेको अभिनयले अब्बल अभिनेत्री प्रमाणित गरेको भन्दै प्रशंसा भएको थियो ।

सिनेमा हेरिसकेपछि छोरी सानो हुँदा बजारमा बुवा किन्न जाम न भन्ने गरेको सम्झना गर्दै उपसभामुख इन्दिरा रानाले त्यस प्रकारका समस्याबाट गुज्रेका सबै छोराछोरीले बगानबाट धेरै कुरा सिक्न सक्ने बताइन् । सिनेमामा एकल आमाका लागि छोरीले जे गरेकी छन्, त्यहि काम छोराले पनि गर्न सक्यो भने समाज उत्तम हुने बताइन् ।

अभिनेत्री तथा निर्देशक दीपाश्री निरौलाले बगान सिनेमा मात्र नभई क्रान्ति भएको प्रतिक्रिया दिइन् । ‘यस्तो प्रकारको बिषयवस्तु उठाउनलाई ठुलै मुटु चाहिन्छ । सरोज खनाल जस्तो अभिनेता हुनुहुन्छ, त्यस्तै अब्बल निर्देशन गर्नुभएको छ’, निरौलाले भनिन् । उनले अभिनेत्री मानन्धरले आफुलाई अब्बल नै हुँ भनेर प्रमाणित गरेको पनि बताइन् । उनले बगानका प्रत्येक संवादका शब्दले मुटु छोएको उल्लेख गरिन् ।

अभिनेता रमेश उप्रेतीले कम रुने आफुलाई सिनेमाले रुवाएको बताए । ‘म पुरुष हुँ, कम रुन्छु । म यत्तिकै पक्कै रोईन होला । बगान हेर्दा तपाईको आँखामा आँशु आएन भने मेरो नाम रमेश उप्रेती नै होइन’, उनले भने । कथा, निर्देशन र सबैको अभिनय पक्षको प्रशंसा गरे ।

गायिकाद्वय देविका बन्दना र सुनिता दुलालले निर्देशक सरोज खनाल, अभिनेत्री करिश्मा मानन्धर, डेव्यु अभिनेत्री कार्कीसहित सबै कलाकारको खुलेर तारिफ गरे । उनिहरुले समाजमा एकल आमाले बाँच्न पाउने अधिकार भएको तर निकै चुनौती रहेको बताउँदै सिनेमाले त्यसलाई उजागर गरेकोमा प्रसन्न देखिए ।

पत्रकार बबिता बस्नेतले नेपाली सिनेमाको क्षेत्रमा ‘बगान’ले फरक धार स्थापित गरेको बताइन् । कोशी प्रदेश सभा सदस्य मीना श्रेष्ठले एकल आमाले कति चाहनाहरुलाई हत्या गर्दै जीवन चलाईरहेको हुन्छ, सिनेमाले त्यस्तो होइन हरेक महिलाले खुशी हुन पाउनु पर्छ भन्ने भावना बोकेको बताइन् ।

निर्देशकद्वय ज्ञानेन्द्र देउजा र नरेश पौडेलले सिनेमाले गहन बिषयको उठान गरेको बताए । समाजलाई नयाँ मोड दिन सक्ने सिनेमालाई राज्यले पनि साथ दिनुपर्ने भन्दै पुरुष निर्देशकले महिलाको कथालाई समाज परिवर्तन हुनुपर्यो भन्ने उद्देश्यसहित बनाएकोमा निकै खुशी लागेको बताए । निर्देशक शोभित बस्नेतले सिनेमा पूर्ण पारिवारिक रहेको भन्दै करिश्मा मानन्धर सुन्दरी अभिनेत्री मात्र नभएर पक्का कलाकार पनि हो भन्ने प्रमाणित भएको बताए ।

अभिनेता कृष्ण मल्लले बगानले हाम्रो समाजमा परिवर्तनको लहर दिन सफल भएको बताउँदै सिनेमाको सबै पक्षको प्रशंसा गरे । अभिनेता तथा निर्माता अशोक शर्माले बिषयवस्तु अत्यन्त मजबुत रहेको प्रतिक्रिया दिँदै दर्शकले हेरेर सार्थक बनाउनुपर्ने जिकिर गरे । निर्देशक दिनेश डिसीले सिनेमाले सोच्न बाध्य बनाउने बताए । उनले सिनेमा हेर्दा आफु पटक पटक रोएको बताए । लेखक विकास सुवेदीले यस प्रकारको सिनेमा दर्शकलाई मन पर्ने बताए ।

सिनेमाकी मुख्य अभिनेत्री मानन्धरले पहिलोपटक पुरा सिनेमा हेरेपछि आत्मसन्तुष्टी मिलेको बताइन् । उनले भनिन्, ‘एक कलाकारलाई आफ्नो काम मन पर्दैन, तर बगान हेर्दा म सन्तुष्ट भएँ ।’ निर्देशक तथा अभिनेता सरोज खनालले सिनेमा हेरेर प्रतिक्रिया दिने सबैलाई धन्यवाद दिँदै अब दर्शकको हातमा सिनेमा जिम्मा लगाएको बताए ।

अभिनेत्री प्रमिला कार्कीले आफुलाई पर्दामा दर्शकसँग बसेर हेर्नु निकै गाह्रो भएको महशुस गरेको बताइन् । कार्कीले भनिन्, ‘प्रिमियरमा प्राप्त प्रतिक्रियाबाट डेव्यु कलाकारको हिसाबले उर्जा प्राप्त भएको छ ।’ निर्माता तथा गीतकार सुरेश वाग्लेले दर्शकलाई सिनेमा कस्तो लाग्छ त्यो प्रमुख रहेको बताउँदै आफुले सिनेमामा राम्रो गीत लेखेछु जस्तो पनि लागेको बताए ।

सिनेमाको निर्माण टिमले देशभरनै एकल आमाहरूलाई निःशुल्क सिनेमा देखाउने घोषणा गरिसकेको छ । यसको लागि सिनेमा हलमा सरकारले जारी गरेको एकल आमाको परिचयपत्र देखाउनुपर्नेछ । सिनेमामा सरोज खनाल, करिष्मा मानन्धर, प्रमिला कार्कीका अलवा आकाश श्रेष्ठ, नीर शाह, बसुन्धरा भुषाल र मिथिला शर्मा लगायतको अभिनय रहेको छ ।

नेपाली वेबसाइट डटकमको प्रस्तुती रहेको ‘बगान’का निर्माता सुरेश वाग्ले तथा कार्यकारी निर्माता विनोद मानन्धर हुन् । स्वप्निल नीरवको कथामा आधारित सिनेमाबाट अभिनेता खनालले निर्देशनमा र अभिनेत्री कार्कीले अभिनयमा डेव्यु गरेका हुन् । सिनेमामा गौरीशंकर धुजुको डिओपी, उत्सव दाहाल र नारायण जिसीको छायांकन, सन्देश शाहको सम्पादन, समिर मियाँको भिएफएक्स तथा रेनिश फागोको कलर करेक्शन रहेको छ ।

ब्याकराउन्ड स्कोर सुजिल कर्माचार्य, साउन्ड मिक्सिंग मुकेश शाह, हरि लम्साल र सुवास भुषालको संगीत रहेको सिनेमाका गीतमा अञ्जु पन्त, सुगम पोखरेल र अस्मिता अधिकारीको स्वर रहेको छ । सिनेमा नेपाल र अमेरिकासहित नेपालीको बसोबास रहने विभिन्न देशहरुमा प्रदर्शन गर्ने तयारी निर्माण टिम छ । सिनेमाको वितरण रिच इन्टरटेन्मेन्ट र डिसिएनले काठमाडौँ उपत्यका र बाहिर एफडी कम्पनीले गर्दैछ ।