अन्तरजातीय प्रेमकथामा ‘श्रद्धा-सुमन’, बन्दिपुरमा वर्कशप

अन्तरजातीय प्रेमकथामा ‘श्रद्धा-सुमन’, बन्दिपुरमा वर्कशप

द सिनेमा टाइम्स
91
Shares

द सिनेमा टाइम्स, काठमाडौं – केडी प्रशितको लेखन तथा निर्देशनमा अन्तरजातीय प्रेमकथामा सिनेमा ‘श्रद्धा-सुमन’ निर्माण हुने भएको छ । सिनेमाको बिहीबारबाट पर्यटकीय नगरी बन्दिपुरमा वर्कशप सुरु गरिएको छ । अमर सिंह खातीले निर्माण गर्ने सिनेमाको प्रस्तुतकर्तामा सोनिया नेपाली र सुप्रिया सिंह खाती रहेका छन् ।

केडी फिल्म्स प्रालिको पहिलो प्रस्तुति रहेको सिनेमामा अधिकांश नयाँ कलाकारको अभिनय रहनेछ । सिनेमामा दीपक अधिकारी र आकांक्षा तामाङ शीर्ष भूमिकामा अभिनय गर्दैछन् । एक ब्राह्मण समुदायको युवक र एक तामाङ समुदायकी युवतीबीचको प्रेमकथामा आधारित भएर सिनेमा निर्माण हुने निर्देशक प्रशितले जानकारी दिए ।

सिनेमामा कमलमणि नेपाल, सुवर्ण बस्ताकोटी, सुरविर पण्डित, विमल पौडेलको पनि मुख्य भूमिका रहनेछ । चिरञ्जीवी भण्डारीको संगीत र उत्सव दाहालको छायांकन रहने सिनेमाको छायांकन आगामी भदौको १५ गतेबाट सुरु गर्ने तयारीमा निर्माण टिम छ ।

सिनेमाको कथावस्तु अत्यन्त सशक्त रहेकाले सिनेमा पनि उत्कृष्ट बन्नेमा निर्देशक प्रशित विश्वस्त छन् । सिनेमाको छायांकन बन्दिपुर, चितवन र पोखरामा हुनेछ । विदेशमा पनि सिनेमाको छायांकन गर्ने तयारी भैरहेको निर्माणपक्षले बताएको छ ।