राजनीतिक पृष्ठभूमिमा दीपेन्द्र लामा निर्देशित ‘नाङ्गो गाउँ’को पोस्टर सार्वजनिक

राजनीतिक पृष्ठभूमिमा दीपेन्द्र लामा निर्देशित ‘नाङ्गो गाउँ’को पोस्टर सार्वजनिक

द सिनेमा टाइम्स
91
Shares

द सिनेमा टाइम्स, काठमाडौं – आगामी भदौ २९ गतेबाट प्रदर्शनको तयारीमा रहेको सिनेमा ‘नाङ्गो गाउँ’को पोस्टर सार्वजनिक गरिएको छ । राजनीतिक पृष्ठभूमिमा तयार पारिएको पोस्टरमा प्रमुख कलाकारहरु दयाहाङ राई, शिशिर बाङ्देल, कर्मा, मिरुना मगर, साम्राज्ञी आरएल शाह, बुद्धि तामाङ र रविन्द्र झा प्रस्तुत छन् ।

दयाहाङ माइकिङ गर्दै गरेको अवस्थामा देखिएका छन् भने साम्राज्ञीलाई हातमा रहेको चुरोटबाट धुँवा निस्किरहेको अर्थात् ‘स्मोकर’को रुपमा चित्रिण गरिएको छ । दीपेन्द्र लामाको लेखन तथा निर्देशन रहेको छ । सिनेमामा राज थापा, कमलमणी नेपाल, अंकित खड्का, पुष्कर गुरुङ, विशाल पहारी, निमा पाण्डेलगायतको पनि अभिनय छ ।

हिमाल शर्माको प्रस्तुति रहेको सिनेमामा जय श्रेष्ठ निर्माता र राम श्रेष्ठ कार्यकारी निर्मातामा छन् । आलोक शुक्लाको छायांकन रहेको सिनेमामा बनिष शाहको सम्पादन तथा एसडी योगी र दीपक शर्माको संगीत छ । सिनेमाले एउटा गाउँमा राजनीतिको कारणले उत्पन्न ठूलो समस्या र त्यसले पारेको प्रभावको कथालाई प्रस्तुत गरेको छ ।

नेपालकै मितिमा अमेरिका र क्यानडासहित २२ भन्दा बढी देशमा सिनेमा एकसाथ प्रदर्शन हुनेछ । निर्देशक लामा भन्छन्, ‘नेपाली समाजको एउटा मौलिक कथालाई पर्दामा उतार्ने प्रयास गरेका छौं । तपाईहरुले सिनेमाबाट पूर्ण सन्तुष्टि पाउनुहुनेछ भन्ने आशा छ ।’