सिनेमा छायांकन स्टुडियोका लागि वनक्षेत्रको प्रयोग गर्न स्वीकृति

सिनेमा छायांकन स्टुडियोका लागि वनक्षेत्रको प्रयोग गर्न स्वीकृति

द सिनेमा टाइम्स
133
Shares

द सिनेमा टाइम्स, काठमाडौं – सरकारले चलचित्र छायांकनका लागि स्टुडियो निर्माण गर्न वनक्षेत्रको प्रयोग गर्न स्वीकृति दिएको छ ।

काभ्रेको बाहुनडाँडा सामुदायिक वनको २.५०८५ हेक्टर जग्गा प्रयोग गर्न सरकारले स्वीकृति दिएको हो । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो । बजेटमै स्टुडियो निर्माणका कार्यक्रम समेटिएको थियो ।

बनेपा नगरपालिका वडा नंम्बर १० र १३ अन्तर्गत बाहुनडाँडा सामुदायिक वनको जग्गामा नेपाल सरकारले सिनेमा छायांकनका लागि स्टुडियो निर्माण गर्न दिने भएको छ । सञ्चार तथा सूचना मन्त्री रेखा शर्माले बिहीबार मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै बाहुनडाँडा वनको २.५०८५ हेक्टर जग्गा स्टुडियो निर्माणका लागि दिने निर्णय भएको जानकारी गराइन् ।

बनेपामा स्टुडियो निर्माण प्रक्रिया अगाडि बढाइने घोषणा पुष्पकमल दाहाल नेतृत्वको सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि १७ खर्ब ५१ अर्ब ३१ करोड रुपैयाँ बराबरको बजेट सार्वजनिक गर्ने क्रममा अर्थमन्त्री डाक्टर प्रकाशशरण महतले गरेका थिए । बनेपामा स्टुडियो निर्माण गर्ने कुरा अघिल्लो सरकारले ल्याएको बजेटमा पनि उल्लेख थियो । तर, त्यो बजेटमा मात्रै सीमित रहेको थियो ।

चलचित्र विकास बोर्डलाई आर्थिक वर्ष २०८०/८१ मा सरकारबाट ४ करोड ४५ लाख रुपैयाँ मात्र प्राप्त छ । यो स्टुडियो निर्माणका लागि २० करोड बढी लागत लाग्ने अनुमान गरिएको छ । स्टुडियो निर्माणका लागि छुट्याएको बजेटको बारेमा भने न सरकार न चलचित्र विकास बोर्डले जानकारी गराएको छ । स्टुडियो निर्माण लागि सरकारको बजेट कुर्नुपर्ने देखिन्छ ।