पाइरेसी विरुद्धको सामग्री देखाउन देशभरका सिनेमा हललाई बोर्डको पत्राचार

पाइरेसी विरुद्धको सामग्री देखाउन देशभरका सिनेमा हललाई बोर्डको पत्राचार

द सिनेमा टाइम्स
154
Shares

द सिनेमा टाइम्स, काठमाडौं – सिनेमा पाइरेसी विरुद्ध चलचित्र विकास बोर्डले निर्माण गरेको श्रव्य दृश्य सामग्री नेपालका सबै हलहरुमा देखाइने भएको छ । बिहिवार देशभरका सिनेमा हल संचालकको छाता सगंठन नेपाल चलचित्र संघलाई औपचारिक पत्र काट्दै हरेक हलमा सामग्री प्रदर्शनको व्यवस्था गर्न निर्देशन दिएको हो ।

बोर्डले आर्थिक बर्ष २०७९।८० को बजेटबाट निर्माण गरेको उक्त श्रव्य दृश्य सामग्री इन्टरनेटमा समेत सार्वजनिक गरिएको छ । बोर्डको अफिसियल युट्युब च्यानलमा उक्त सामग्री राखिएको छ । यो सामग्रीमा प्रियंका कार्की, रुबि श्रेष्ठ, डिक्की गुरुङ लगायतका कलाकारहरुले अभिनय गरेको भिडियोलाई सुयोग गुरुङले निर्देशन गरेका छन् ।

यो सामग्रीमा सिनेमा र सिनेमाजन्य वस्तु जानेर वा अञ्जानवश पाइरेसी गर्दा हुने कारबाहीलाई नाटकीय रूपमा प्रस्तुत गरिएको छ । साथै, यसमा बोर्ड अध्यक्ष भुवन केसी, नेपाल प्रतिलिपि अधिकार रजिष्ट्रार कार्यालयका प्रवक्ता लाल बहादुर बस्नेत र नेपाल प्रहरीका डिआईजी कुबेर कडायतको पाइरेसी सम्बन्धी कानुनी प्रावधानहरु सहितको भनाई राखिएको छ ।

बोर्ड अध्यक्ष केसीले यो सामग्रीले समस्त दर्शकवर्गमा पाइरेसी सम्बन्धी जनचेतना जगाउने विश्वास व्यक्त गरेका छन् । बोर्डले वर्तमान अवस्थामा डरलाग्दो स्थितीमा रहेको पाइरेसी समस्या समाधानको लागि जनचेतना जगाउने विभिन्न कार्यक्रमहरूसँगै साइबर सेक्युरिटी डेस्क स्थापनाको लागि पनि कार्य गरिरहेको बताए । अध्यक्ष केसीले नेपाललाई अन्तराष्ट्रिय सिनेमा छायांकनको लागि खुल्ला स्टुडियोको रुपमा प्रवर्धन गर्ने विभिन्न योजनाहरुमा समेत काम गरिरहेको खुलाए ।

यो सामग्री सिनेमा हलहरुमा सिनेमा सुरु हुने समयमा प्रदर्शन गर्ने साथै, अन्य सार्वजनिक स्थलहरुमा समेत निरन्तर प्रदर्शन गर्ने तयारी रहेको बोर्ड प्रवक्ता केएल बुढाथोकीले बताए ।