सरोज र करिष्मा हल पुग्दा भावविह्वल भए ‘बगान’ हेरेका दर्शक

सरोज र करिष्मा हल पुग्दा भावविह्वल भए ‘बगान’ हेरेका दर्शक

द सिनेमा टाइम्स
224
Shares

द सिनेमा टाइम्स, काठमाडौं – शुक्रबारबाट प्रदर्शनमा आएको अभिनेता सरोज खनालद्वारा निर्देशित सिनेमा ‘बगान’को ओपनिङ औषत छ । पहिलो दिन सिनेमाले दर्शकको सुखद साथ पाएको छ । विशेषगरि परिवारिक दर्शक सिनेमा हेर्न हल पुगेका छन् ।

निर्माण टिमले एकल महिलालाई निःशुल्क सिनेमा हेर्ने व्यवस्था मिलाएको छ । हलमा एकल महिलाहरु आफ्ना सन्तानसहित पुगेका छन् । शुक्रबार दर्शक प्रतिक्रिया बुझ्न निर्देशक सरोज खनाल, अभिनेत्री करिश्मा मानन्धर र अभिनेत्री प्रमिला कार्कीले राजधानीका विभिन्न हल पुगेका थिए ।

सिनेमा हेर्दा भावविह्वल भएका दर्शकले सामुन्नेमा पर्दाका कलाकार देख्दा आफूलाई सम्हाल्न सकेका थिएनन् । केही एकल महिलाहरुले करिश्मालाई अंगालो हालेर रोएको दृश्य मर्मस्पर्शी देखिन्थो । करिश्माले भने ढाडस दिइरहेको थिइन् ।

एकल आमाहरूले आफ्नै कथामा सिनेमा बनाएकोमा सरोज खनाललाई धन्यवाद व्यक्त गरे । सिनेमा हेरेर भावविह्वल भएका पुरुष दर्शकले पनि समाज रुपान्तरणका लागि सिनेमाले ठूलो भूमिका खेल्ने प्रतिक्रिया जनाए । सिनेमा हेर्न हल पुगेका एकल आमाहरुको भनाई सुन्दा आफूहरुले देखाउन खोजेको कुरामा केही हदसम्म सफल भएको भन्दै निर्देशक खनाल खुसी देखिए ।

‘बगान’मा आकाश श्रेष्ठ, नीर शाह, बसुन्धरा भुषाल र मिथिला शर्मा लगायतको पनि अभिनय रहेको छ । स्वप्निल नीरवले लेखेको कथामा निर्माण भएको सिनेमाको निर्माता सुरेश वाग्ले तथा कार्यकारी निर्मातामा विनोद मानन्धर हुन् । सिनेमामा गौरीशंकर धुजुको डिओपी, उत्सव दाहाल र नारायण जिसीको छायांकन तथा सन्देश शाहको सम्पादन रहेको छ ।