विशेष शोमा मन्त्रीद्वय मोदी र किरातीले हेरे नवल निर्देशित ‘काँडेतार’

विशेष शोमा मन्त्रीद्वय मोदी र किरातीले हेरे नवल निर्देशित ‘काँडेतार’

द सिनेमा टाइम्स
21
Shares

द सिनेमा टाइम्स, काठमाडौं – अभिनेता तथा निर्माता नवल खड्काको निर्देशनमा निर्माण भएको सिनेमा ‘काँडेतार’को शनिबार राजधानीमा विशेष प्रदर्शन गरिएको छ । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदी र संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले पनि सिनेमा हेका थिए ।

चलचित्र विकास बोर्डमा शनिबार नेपाल-भारत सीमाको सुरक्षार्थ खटिने क्रममा घाइते र निधन भएका सुरक्षाकर्मीको परिवारलाई सघाउने उद्देश्यले सिनेमाको तीनवटा विशेष शोको आयोजना गरिएको थियो । ती शोहरुमा समाजका विभिन्न क्षेत्रका अभियन्ता, विज्ञ र युवाले सिनेमा हेरेका थिए । सिनेमा हेरेपछि दुवै मन्त्रीले सिनेमाको कथावस्तु, प्रस्तुतीकरण र प्राविधिक पक्षको प्रशंसा गरेको निर्माता तथा निर्देशक खड्काले बताए ।

‘मन्त्रीज्यूहरुले प्रत्येक नेपालीले हेर्नैपर्ने सिनेमाको रुपमा काँडेतारलाई लिनुभयो । प्रस्तुतीकरणदेखि प्राविधिक पक्षको पनि तारिफ गर्नुभयो,’ स्क्रिनिङपछि अभिनेता खड्काले भने, ‘मौलिक र देशभक्तिपूर्ण सिनेमाको निर्माणमा सरकारले सघाउने वचन उहाँहरुले दिनुभयो ।’ सिनेमालाई आगामी भदौदेखि ७७ जिल्लामा विशेष शोको आयोजना गर्ने तयारी भैरहेको छ ।

यसबाहेक सिनेमालाई नेपालअघि विदेशमा समेत प्रदर्शन गर्ने निर्देशक खड्काको छ । सिनेमा आगामी फागुन २५ गते प्रदर्शनको तयारीमा छ । विशेष शोबाट प्राप्त कलेक्सनको केही हिस्सा घाइते सीमा सुरक्षाकर्मीको उपचार र उनीहरुको परिवारलाई दिइने छ ।

नेपालको अन्तर्राष्ट्रिय सीमामा काँडेतार लगाएर सीमालाई व्यवस्थित गर्नुपर्छ भन्ने कथावस्तु बोकेको सिनेमालाई यही महिना विकास बोर्डले स्टोरी बैंकअन्तर्गत १० लाख रुपैयाँ राशीले पुरस्कृत समेत गरेको थियो । सिनेमामा निर्देशक खड्काका अलवा गौरव पहारी, रेविका गुरुङ, सुरविना कार्की, मुरलीधर, प्रेम सुब्बा, परशुराम चौधरी, सञ्जय खतिवडा, राजेन्द्र भगत, पन्नालाल सिकदार, प्रकाश गिरी, बाल कलाकारहरु नादिया खड्का, सनया खड्कालगायतको अभिनय रहेको छ ।