कलाकार संघद्धारा सारुक ताम्राकारको मृत्युबारे छानबिन गर्न माग

कलाकार संघद्धारा सारुक ताम्राकारको मृत्युबारे छानबिन गर्न माग

द सिनेमा टाइम्स
189
Shares

द सिनेमा टाइम्स, काठमाडौं – अभिनेता सारुक ताम्राकारको मृत्युलाई लिएर भइरहेका सार्वजनिक टिप्पणीप्रति नेपाल चलचित्र कलाकार संघले चासो व्यक्त गरेको छ । आइतबार अपरान्ह बसेको कार्यसमिति बैठकपछि संघले सदस्य ताम्राकारको मृत्युको विषयमा गहिरो छानबिन गरी सत्यतथ्य सार्वजनिक गर्न माग गरेको छ ।

अध्यक्ष मोहन निरौलाद्वारा हस्ताक्षरित प्रेस विज्ञप्तिमा सामाजिक सञ्जालमा पछिल्लो समय आएका अभिव्यक्तिको छानबिन गरी कोही दोषी देखिए सत्यतथ्य उजागर गरी कानुनको दायरामा ल्याउन माग गरिएको हो । संघको बैठकमा समेत सारुक प्रकरणबारे छलफल भएको अध्यक्ष निरौलाले बताए ।

सामाजिक सञ्जालमा केही दिनदेखि ताम्राकारको निधनलाई लिएर निर्देशक लगायतले भनेका भनाइहरु सार्वजनिक भइरहेका छन् । कलाकार र अन्य प्रयोगकर्ताले सामाजिक सञ्जालमार्फत पनि घटनाको छानबिन गरी यथार्थ पत्ता लगाउन माग राखेका छन् । असार २१ गते राति सारुक रातोपुलस्थित घरमा मृत भेटिएका थिए ।

मालीगाउँ प्रहरी वृत्तमा घटनाको यथार्थ पत्ता लगाउन माग गर्दै उनको मृत्युपछि आफन्तले निवेदन समेत दिएका थिए । जसअनुसार प्रहरीले सारुकले प्रयोग गर्दै आएको मोबाइल समेत अनुसन्धानका लागि लिएको छ । यतिबेला सामाजिक सञ्जालमा सारुकको मृत्युको कारण पत्ता लगाउन सिनेमाकर्मीले माग गरेका छन् ।

सिनेमाका लागि भनेर निर्माताले कलाकारका लागि बुढानीलकण्ठमा घर समेत भाडामा लिएका थिए, जहाँ यी तीनैजना कलाकार बस्दै आएका थिए । उक्त घरलाई अहिले प्रहरीले सिल गरेको छ । सारुक मृत्युअघि राजीव गुरुङले निर्देशन गरिरहेको सिनेमा ‘ह्यासट्याग माया’को छायांकनमा व्यस्त थिए । यो सिनेमामा नम्रता श्रेष्ठ र रोयदीप श्रेष्ठ पनि मुख्य कलाकारको रुपमा थिए ।

अभिनेता सानुकुमार ताम्राकारका छोरा समेत रहेका सारुकले रानी, मेरी मामु र इन्टुमिन्टु लण्डनमा लगायतका सिनेमामा अभिनय गरेका छन् ।