नवीन चौहानको निर्देशनमा ‘ऊनको स्वीटर’ बन्ने, शीर्ष भूमिकामा विपिन र मिरुना

नवीन चौहानको निर्देशनमा ‘ऊनको स्वीटर’ बन्ने, शीर्ष भूमिकामा विपिन र मिरुना

द सिनेमा टाइम्स
630
Shares

द सिनेमा टाइम्स, काठमाडौं – आर्टमाण्डूको ब्यानरमा निर्माण हुने सिनेमा ‘ऊनको स्वीटर’ निर्माणको घोषणा गरिएको छ । आइतबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच सिनेमाको टाइटल गीत सार्वजनिक गर्दै सिनेमाको निर्माण घोषणा गरिएको हो ।

सिनेमामा अभिनेता विपिन कार्की र अभिनेत्री मिरुना मगरको शीर्ष भूमिका रहनेछ । ‘लालपूर्जा’पछि मिरुना र विपिनको दोस्रो सहकार्य हो । म्युजिकल सिनेमामार्फत् लोकप्रियता हासिल गरेका नवीन चौहानले लेखन तथा निर्देशन डेव्यु गर्दैछन् । नवीनले आर्टमाण्डूमार्फत् ‘तीनपाते’, घुमीघुमी, फूलथुंगे रानी, चन्द्रमा, पाहुना हजुर, सुनाखरी, ‘के माया लाग्छ र, बटौली’ जस्ता दर्जन भन्दा बढी म्युजिकल सिनेमा निर्माण गरिसकेका छन् ।

आर्टमाण्डूबाटै अघिल्लो वर्ष मञ्चन भएको नाटक ‘चोरको स्वर’ले थिएटरमा दर्शकहरूको आकर्षण बढाएको थियो । ‘म्युजिकल सिनेमा बनाइरहँदा फिचर्ड सिनेमाबाट अर्गानिक स्वादको कथा भन्ने सोच बनाइरहेको थिएँ । आज घोषणा गर्न पाउँदा खुसी छु । ममाथि अभिभारा थपिएको छ । राम्रो र फरक सिनेमा बनाउन मेरो प्रयास रहनेछ,’ निर्देशक चौहानले भने ।

अभिनेता विपीन कार्कीले ‘ऊनको स्वीटर’ आफ्नो लागि विशेष हुने बताए । ‘नवीन जीसँग पहिले पनि बटौली र घुमीघुमीमा सहकार्य गरिसकेको छु । उहाँको कामप्रति मलाई पूर्ण विश्वास छ । यो सिनेमामा धेरै कुरा समेटिएको छ । नयाँपनसँगै राम्रो हुनेमा विस्वस्थ छु,’ उनले भने ।

अभिनेत्री मिरुना आफू पहिल्यैदेखि आर्टमाण्डूले गरेका कामहरूको प्रशंसक भएकाले सहकार्य गर्न उत्सुक भएको बताइन् । ‘उहाँहरूको कामलाई म फ्यान भएर हेरिरहेको छु । झन् सहकार्य गर्न पाउँदा खुसी छु,’ मिरुनाले भनिन्, ‘जुन क्यारेक्टर मलाई नवीन जीले भन्नुभयो, सुन्दा नै गुजबम आएको थियो । गीत पनि सुन्दा एकदमै कहिले सुटमा जाने होला भनेर आतुर भइरहेको छु ।’

सिनेमा घोषणा गर्नुअघि गायक सुजन चापागाईले टाइटल गीतको लाइभ प्रस्तुति दिएका थिए । सिनेमामा सुजन र गायिका झुमा लिम्बु संगीत निर्देशक छन् । कार्यक्रममा सुजनले भने, ‘हाम्रो सपनाको सुरुवात तपाईहरूलाई अगाडि राखेर गर्दैछौँ । हाम्रो गन्तब्यमा हजुरहरूको साथ सधैं रहन्छ भन्नेमा आशा छ । एउटा सपना बोकेर हिँडेका छौँ । तपाईहरूलाई माया लाग्ने, मनपर्ने बनाउने कोसिस गर्नेछौँ ।’

सिनेमाका लागि टाइटल गीत हर्क साउदले लेखेका हुन् । उनले गीत लेख्दाको अनुभव सुनाए, ‘हामीले गरेको हरेक काम तपाईहरूले रुचाइदिनु भएको छ । ‘ऊनको स्वीटर’को टाइटल गीतको ५ लाइन लेख्न २० धार्नीको फलामको चिउरा कुटेर एउटा तरबार बनाएजस्तो गाह्रो भएको थियो ।’

सिनेमामा विपिन र मिरुनाका अलवा एलेक्स पारस, परीक्षा लिम्बु, अनिल सुब्बा लगायतका कलाकारको पनि अभिनय रहनेछ । साथै, बाँकी कलाकार भने छिट्टै फाइनल हुने बताइएको छ । सिनेमामा अनिल सुब्बा र सुरज तमू कास्टिङ निर्देशक छन् । सिनेमालाई सिनेमाटोग्राफर चिन्तनराज भण्डारीले खिच्नेछन् ।

सिनेमाको सम्पादन कृष्ण भण्डारीले गर्नेछन् । ब्याकराउण्ड संगीत निर्देशक कोबिद बज्र हुनेछन् भने पब्लिसिटी डिजाइन ट्राइटेण्ड कन्सेप्टका रोयल भिमसेनले गर्नेछन् । सिनेमा मंसिरको पहिलो साताबाट फ्लोरमा जानेछ ।