पूर्वराष्ट्रपति भण्डारीले ‘बगान’ हेरेर भन्नुभयो-‘एकल महिलाको पुनर्विवाहको सन्देश सकारात्मक’

पूर्वराष्ट्रपति भण्डारीले ‘बगान’ हेरेर भन्नुभयो-‘एकल महिलाको पुनर्विवाहको सन्देश सकारात्मक’

द सिनेमा टाइम्स
70
Shares

द सिनेमा टाइम्स, काठमाडौं – गत शुक्रबारबाट प्रदर्शनमा आएको सरोज खनालद्वारा निर्देशित सिनेमा ‘बगान’ले बक्सअफिसमा राम्रो व्यापार गर्न नसकेपनि दर्शकसँगै विभिन्न क्षेत्रका व्यक्तिहरुबाट सकारात्मक प्रतिक्रिया पाइरहेको छ ।

यसैबीच, मंगलबार साँझ पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीसहित कलाकार, राजनीतिज्ञ, साहित्यकार तथा विश्लेषकहरूले सिनेमा हेरेर कथावस्तुदेखि कलाकारको अभिनय पक्षसम्मको प्रशंसा गरेका थिए । पूर्वराष्ट्रपति भण्डारीले सिनेमाको कथावस्तु राम्रो रहेको र समाजमा नयाँ सन्देश दिने विश्वास व्यक्त गरिन् ।

बरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले सन्तानले पनि हेर्नुपर्ने सिनेमा बनेको बताए । ‘नारीमाथि भैरहेको अन्यायको विषयसँगै सिनेमाले समाजलाई राम्रो सन्देश दिन्छ । यो कथा उठाएकोमा सरोज खनाललाई धन्यवाद,’ उनले भने । सिनेमाका केही दृश्यमा आफू भावुक भएको समेत उनले बताए ।

राप्रपा नेता रविन्द्र मिश्रले जुन बिषयवस्तुलाई प्रोत्साहित गर्नुपर्ने हो त्यो विषय ‘बगान’ले उठाएकोमा निर्देशक खनालप्रति धन्यवाद व्यक्त गरे । पुरुष तथा महिला दुवैले मुखले अधिकारको कुरा गरेपनि भित्री मनले आफूसँग सम्बन्धित एकल महिलाले पुनर्विवाह नगरेहुन्थ्यो भन्ने सोच समाजमा अहिले पनि व्याप्त रहेको र यो विषयलाई सशक्त रूपमा सिनेमामा प्रस्तुत गरिएको प्रतिक्रिया मिश्रले दिए ।

पूर्वमन्त्री हिसिला यमीले अभिनेत्री करिश्मा मानन्धर आफैँ पनि तमाम् महिलाहरूको लागि प्रेरणा रहेको भन्दै त्यस्तै प्रकृतिको सिनेमा हेर्न पाउँदा खुसी लागेको बताइन् । कलाकार हरिवंश आचार्यले सिनेमाको विषय मुटु छुने रहेको बताए । उनले निर्देशनमा हात हालेका खनालले राम्रो काम गरेको भन्दै अभिनेत्री मानन्धर र प्रमिला कार्कीको अभिनयको तारिफ गरे ।

निर्देशक तुलसी घिमिरेले ‘बगान’को विषय एकदम सुनौलो र समाजको लागि बलियो सन्देश रहेको बताए । सिनेमाले मानिसको जीवनसँग प्रत्यक्ष सम्बन्ध राख्ने उल्लेख गरे । कलाकार किरण केसीले सिनेमाले धेरैपटक रुवाएको भन्दै अभिनेत्री कार्कीको अभिनयको प्रशंसा गरे । संविधानविद् भिमार्जुन आचार्य र नेपाल प्रहरीका पूर्वडिआईजी रमेश खरेलले पनि सिनेमाको प्रशंसा गरेका थिए ।

‘बगान’मा नीर शाह, बसुन्धरा भुषाल, आकाश श्रेष्ठ र मिथिला शर्माको पनि अभिनय छ । निर्देशक खनालले पनि प्रमुख भूमिकामा अभिनय गरेका छन् । स्वप्निल नीरवले लेखेको एक पुस्तकमा आधारित भएर निर्माण गरिएको सिनेमाका निर्माता सुरेश वाग्ले तथा कार्यकारी निर्माता विनोद मानन्धर हुन् । सिनेमामा गौरीशंकर धुजुको डिओपी, उत्सव दाहाल र नारायण जिसीको छायांकन छ ।