बक्सअफिसमा नेपाली सिनेमाहरुले गत आर्थिक वर्षमा कमाए ७६ करोडमाथि

बक्सअफिसमा नेपाली सिनेमाहरुले गत आर्थिक वर्षमा कमाए ७६ करोडमाथि

द सिनेमा टाइम्स
728
Shares

द सिनेमा टाइम्स, काठमाडौं – चलचित्र विकास बोर्डले यो वर्षदेखि स्वदेशी तथा विदेशी सिनेमाले नेपालमा गरेको बक्कअफिस रिपोर्ट सार्वजनिक गर्न थालेको छ । विकास बोर्डले बिहीबार आर्थिक वर्ष २०७९/८० मा प्रदर्शनमा आएका सिनेमाहरुको ग्रस कलेक्सन रिपोर्ट सार्वजनिक गरेको हो ।

गत आर्थिक वर्षमा स्वदेशी र विदेशी गरी जम्मा १३५ वटा सिनेमा प्रदर्शनमा आएको बोर्डद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ । नेपाली तथा विदेशी सिनेमाको कमाईमा ठूलो अन्तर देखिएको छैन् ।

स्वदेशी सिनेमाहरूको २७,१६,२१७ थान टिकट बिक्रीसहित ग्रस व्यापार छहत्तर करोड बहत्तर लाख सन्ताउन्न हजार एक रुपैयाँ छ भने विदेशी सिनेमाहरुको २५,८५,६०२ थान टिकट बिक्रीसहित ग्रस व्यापार उनासी करोड त्रिचालिस लाख चार हजार सात सय अठचालिस रुपैयाँ सत्तरी पैसा छ ।

स्वदेशी तथा विदेशी सिनेमाहरुको गरी २०७९/८० मा १५६ करोडमाथिको कारोबार भएको छ । गत आर्थिक वर्षमा स्वदेशी सिनेमातर्फ ‘छक्का पञ्जा ४’ ले सर्वाधिक कमाई १७ करोड ५२ लाख ग्रसले गरेको छ । त्यस्तै, १७ करोड १७ लाख ग्रससहित ‘जारी’ दोस्रो र ‘प्रेमगीत ३’ नेपाली भर्सनले ७ करोड ७० लाख ग्रससहित तेस्रो स्थानमा छ ।

विदेशी सिनेमातर्फ ‘पठान’ १३ करोड ग्रससहित पहिलो, ‘अवतार’ ८ करोड ग्रससहित दोस्रो र ‘ब्रम्हास्त्र’ ४ करोड ग्रस कमाईसहित तेस्रो स्थानमा छ । यस वर्ष ‘जारी’पछि सिनेमा ‘बिहे पास’को उच्च ग्रस कमाई देखिन्छ । दुई चरणको प्रदर्शनसहित सिनेमाले ३२ हजार ८ सय २५ वटा टिकट बिक्रीबाट ९४ लाख ग्रस कमाई गरेको छ ।

त्यस्तै, तेस्रो स्थानमा सुर्दशन थापा निर्देशित सिनेमा ‘प्रसाद २’ छ, जसको ग्रस कलेक्सन ८१ लाख ५१ हजार देखिन्छ । बिहीबार विकास बोर्ड जारी गरेको विज्ञप्तीमा सिनेमाहरुको कमाईका अलवा प्रदर्शन सुरू भएको मिति र टिकट बिक्रीको संख्या पनि उल्लेख गरेको छ । बोर्डको यो कमदकको अधिकांश सिनेमाकर्मीले प्रशंसा समेत गरेका छन् ।