सरोज खनाल निर्देशित ‘बगान’को दश दिनको कमाई ७० लाख ग्रस

सरोज खनाल निर्देशित ‘बगान’को दश दिनको कमाई ७० लाख ग्रस

द सिनेमा टाइम्स
126
Shares

द सिनेमा टाइम्स, काठमाडौं – गत असार २९ गतेबाट प्रदर्शनमा आएको सिनेमा ‘बगान’ले दश दिनमा करिब ७० लाख ग्रस कलेक्शन गरेको छ । निर्माताले सार्वजनिक गरेको तथ्याङ्कअनुसार सिनेमाले ६९,७८,१९१ ग्रस कलेक्शन गरेको छ ।

सिनेमाका निर्माता सुरेश वाग्लेले वितरक कम्पनीहरू रिच इन्टरटेनमेन्ट, डिसिएन र एफडीले प्रत्येक दिन उपलब्ध गराएको व्यापारिक आँकडा अनुसार कलेक्शन रिपोर्ट सार्वजनिक गरिएको बताएका छन् । निर्माता वाग्लेले आफुलाई वितरकले दिएको हरेक दिनको हिसाब अनुसार नै कारोबार गर्ने हुँदा करिब ७० लाखको रिपोर्ट सार्वजनिक गरिएको बताए ।

‘बगान’ले प्रदर्शनको एघारौँ दिन सोमवार पनि राम्रो व्यापार गरेको निर्माता वाग्लेको दाबी छ । उनले भने, ‘आज पनि हामी धेरै हलमा पुग्यौँ । केहि हलमा त हाउसफुल नै दर्शक हुनुहुन्छ । हाउसफुल नभएका हलमा पनि नसोचेको अकुपेन्सी देखियो ।’ नेपाली सिनेमाले दर्शकको अभाव झेलिरहेको बिषम् परिस्थितीमा सिनेमाको व्यापारबाट खुशी रहेको निर्माता वाग्ले बताए ।

 

एकल आमाहरूले देशको जुनसुकै हलमा पनि सिनेमा हेर्न पैसा तिर्नु नपर्ने व्यवस्था गरिएको छ । जसअन्तर्गत एक हजार भन्दा धेरै एकल आमाहरूले आफ्नो परिचयपत्र देखाएर निशूल्क सिनेमा हेरेको निर्माता वाग्लेले बताए । हाल काठमाडौँका विभिन्न हलहरूमा दर्शकसँग साक्षात्कार गरिरहेको सिनेमाको टिमले पुनः काठमाडौँ उपत्यका बाहिरका हलहरूमा दर्शक भेट्न जाने योजना रहेको वाग्लेले बताए ।

अभिनेता सरोज खनालले निर्देशन गरेको सिनेमा ‘बगान’मा करिश्मा मानन्धर, आकाश श्रेष्ठ, प्रमिला कार्की, नीर शाह, बसुन्धरा भुषाल र मिथिला शर्मा लगायतको अभिनय रहेको छ । निर्देशक खनालको पनि सिनेमामा प्रमुख भूमिका छ । अभिनेत्री कार्कीले यहि सिनेमाबाट अभिनयमा डेब्यु गरेकी हुन् ।

स्वप्निल नीरवको कथामा आधारित रहेर बनेको सिनेमा नेपाली वेबसाइट डटकमको प्रस्तुतीमा निर्माण भएको हो । ‘बगान’का कार्यकारी निर्माता विनोद मानन्धर हुन् । सिनेमामा गौरीशंकर धुजुको डिओपी, उत्सव दाहाल र नारायण जिसीको छायांकन, सन्देश शाहको सम्पादन, समिर मियाँको भिएफएक्स तथा रेनिश फागोको कलर करेक्शन रहेको छ ।

ब्याकराउन्ड स्कोर सुजिल कर्माचार्य र साउन्ड मिक्सिंग मुकेश शाहको रहेको सिनेमा हरि लम्साल र सुवास भुषालको संगीत र अञ्जु पन्त, सुगम पोखरेल र अस्मिता अधिकारीको स्वर छ । सिनेमा नेपाल रिलिजपछि अमेरिकासहित नेपालीको बसोबास रहने विभिन्न देशहरुमा प्रदर्शन हुनेछ ।