भदौ ८ गतेबाट कार्म र मेनुकाको ‘महानगर’ प्रदर्शनमा आउने

भदौ ८ गतेबाट कार्म र मेनुकाको ‘महानगर’ प्रदर्शनमा आउने

द सिनेमा टाइम्स

द सिनेमा टाइम्स, काठमाडौं – अभिनेता कार्म र अभिनेत्री मेनुका प्रधानको मुख्य भुमिका रहेको सिनेमा ‘महानगर’ आगामी भदौ ८ गतेबाट सार्वजनिक प्रदर्शनमा आउने भएको छ । काठमाडौंमा एक साँझ दुई अपरिचित व्यक्तिको अनायस हुने भेट र त्यसपछिको घट्नाक्रमको कथालाई लिएर निर्माण भएको सिनेमामा मोहन राईको लेखन तथा निर्देशन रहेको छ ।

सन् २०२१ मा कोलकाता अन्तर्राष्ट्रिय सिनेमा महोत्सवमा विश्व प्रिमियर भएको सिनेमाले अमेरिकाको ब्रुकलिन सिनेमा महोत्सव, नेपाल अमेरिका अन्तर्राष्ट्रिय सिनेमा महोत्सव, वासिङ्गटन डीसी साउथ एसियन सिनेमा महोत्सव, स्पेनको एसियन सिनेमा महोत्सव बार्सिलोना र नेपालको पामे अन्तर्राष्ट्रिय सिनेमा महोत्सव र नेपाल अन्तर्राष्ट्रिय सिनेमा महोत्सव निफमा अफिसियल स्क्रिनिङ्ग भइसकेको छ । यसका अलवा इण्डस भ्याली इन्टरन्याश्नल सिनेमा महोत्सव तथा हालै भारतको जागरण सिनेमा महोत्सवमा पनि महानगर छनौट भएको हो ।

सिनेमाले निफमा राष्ट्रिय सिनेमाको विद्यामा उत्कृष्ट सिनेमा, उत्कृष्ट पटकथा, अभिनय तथा निर्देशनको अवार्ड प्राप्त गरेको थियो भने नेपाल अमेरिका अन्तर्राष्ट्रिय सिनेमा महोत्सवमा नेपाली पानोरामअन्तर्गत अनरेवल मेन्सन प्राप्त गरेको थियो । यस्तै, इण्डस भ्याली इन्टरन्याश्नल सिनेमा महोत्सवमा सिनेमाले ‘मोस्ट इन्सिपिरेश्नल थीम’ अवार्ड तथा कार्मले अभिनयका लागि स्पेशल जुरी मेन्सन अवार्ड प्राप्त गरेका थिए ।

निर्देशक राईले विभिन्न देशका महोत्सवको यात्रा पछि घरेलु दर्शकका लागि सिनेमा प्रदर्शन गर्न लागेको बताएका छन् । सिनेमाले विभिन्न सपना बोकेर महानगर भित्रिने युवाको सपना र यथार्थलाई सिनेमामार्फत अभिव्यक्त गर्ने प्रयास गरेको निर्देशक राईले बताए ।

‘महानगरको मुख्य पात्रझैँ नेपालको पूर्वी जिल्लाको एउटा सानो गाउँबाट सपना बोकेर म पनि वर्षौं पहिला काठमाडौँ आएको थिएँ । काठमाडौँमा बाहिरिया भएर बाँच्नु र सङ्घर्ष गर्नुको मेरो आफ्नै भोगाइ छ । मेरो यही अनुभव र भोगाइलाई क्यामरामार्फत पर्दामा उतारुँ भन्ने सोचले महानगर बनाएको हो । तर खासमा यो सिनेमा ‘ह्युमन कनेक्सन्’ र ‘होप’ बारेको सिनेमा हो,’ निर्देशक राईको भनाई छ ।

माउन्टेन रिभर फिल्मस् तथा गो विन् प्रोडक्सन्स सँगको सहकार्यमा मिडलवे फिल्मस्ले निर्माण गरेको सिनेमामा नरेन्द्र मैनालीको छायांकन, परिक्षित झाको सम्पादन, किशोर आर्चायको ध्वनि सम्पादन तथा पुष्पासंगमको संगीत रहेको छ ।

सिनेमाको कार्यकारी निर्माता गोविन्द पराजुली हुन भने क्रियटिभ निर्मातामा नवनिधि दाहाल रहेका छन् । सिनेमामा अनोज पाण्डे, शोविता अधिकारी, जीवन बराल, परीक्षितविक्रम राणा, चन्द्र पाण्डे लगायतका कलाकार पनि अभिनय रहेको छ ।