अव्यक्त प्रेमका तीन कथा ‘जुलेबी’को टिजर सार्वजनिक

अव्यक्त प्रेमका तीन कथा ‘जुलेबी’को टिजर सार्वजनिक

द सिनेमा टाइम्स
175
Shares

द सिनेमा टाइम्स, काठमाडौं – आगामी भदौ १ गतेबाट प्रदर्शनमा आउने सिनेमा ‘जुलेबी’को टिजर सार्वजनिक गरिएको छ । १ मिनेट १० सेकेण्ड लामो टिजरमा चार महिलाको कथालाई प्रस्तुत गरिएको छ । सिनेमा यौन मनोविज्ञानमा केन्द्रित रहेको टिजरले संकेत गर्छ ।

सिनेमाले तीन घटनालाई चित्रण गरेको कार्यकारी निर्माता नवीन भट्टले जानकारी दिए । टिजरले सिनेमाको दृश्यभाषा बलियो रहेको छनक दिन्छ । एन्थोलोजी जनरामा बनेको सिनेमालाई गणेश देव पाण्डेले निर्देशन गरेका हुन् । यसअघि उनले दुई सिनेमा ‘मञ्जरी’ र ‘गाँजाबाजा’को निर्देशन गरिसकेका छन् ।

फोर क्युब इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको सिनेमामा सुरक्षा पन्त, निशा अधिकारी, उषा रजक, मोनिका थापा, सुशील सिटौला, पुष्कर कार्की, तुफान थापा, समीरमणी दिक्षितलगायतको अभिनय छ । सिनेमाकी निर्मात्री आभा शर्मा नेपाल हुन् । निर्देशक पाण्डे स्वयंको लेखन रहेको सिनेमाको कथावस्तु दर्शकलाई नयाँ लाग्ने विश्वास निर्माण टिमको छ ।

विवेक खड्काको छायांकन, जाटवेद बनर्जीको संगीत, अन्जय खड्काको सम्पादन र साउण्ड डिजाइन उत्तम न्यौपानेको रहेको छ । डिसीएन र रिच इन्टरटेन्टमेन्टले वितरण अधिकार लिएको सिनेमाको विदेशका केही देशमा प्रदर्शन अधिकार बिक्री भैसकेको जनाइएको छ ।