एकवर्षे कार्यकालका उपलब्धि र आगामी कार्ययोजना बोर्ड अध्यक्ष केसीले गरे सार्वजनिक

एकवर्षे कार्यकालका उपलब्धि र आगामी कार्ययोजना बोर्ड अध्यक्ष केसीले गरे सार्वजनिक

द सिनेमा टाइम्स
91
Shares

द सिनेमा टाइम्स, काठमाडौं – सोमबार चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले एकवर्षे कार्यकालका उपलब्धि र आगामी कार्ययोजनाको सूची सार्वजनिक गरेका छन् । गत साउन ११ गते उनको कार्यकालले एक वर्ष पूरा गरेको छ ।

सिनेमा सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकको मस्यौदा तयार भई मन्त्रालयमा पेश भएको कुरालाई अध्यक्ष केसीले आफ्नो पहिलो वर्षको महत्वपूर्ण उपलब्धिको रुपमा उल्लेख गरेका छन् ।

काभ्रेको बनेपामा अत्याधुनिक सिनेमा छायांकन स्टुडियो निर्माण गर्नेसहितका २२ वटा कार्ययोजना पनि उनले सार्वजनिक गरेका छन् । यी योजनालाई आउँदो एक वर्षमा पूरा गर्ने उनको तयारी छ ।

यस्तो छ उपलब्धिहरुको सूची

  • सिनेमासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधयेकको मस्यौदा तयार भई मन्त्रालय पेश भएको छ ।
  • राष्ट्रिय सिनेमा नीति २०७१ लाई समयसापेक्ष परिमार्जन गरी राष्ट्रिय सिनेमा नीति २०८० को मस्यौदा तयार भएको छ ।
  • मिति २०८० असार २६ गतेको मन्त्रिपरिषद्को निर्णयबाट अत्याधुनिक सिनेमा छायांकन स्टुडियो निर्माण आयोजनाको लागि काभ्रेपलाञ्चोक जिल्लाको बनेपा नगरपालिका वडा नम्बर १० र १३ अन्तर्गत रहेको बाहुँनडाँडा सामुदायिक वनको कुल जम्मा २.५०८५ हेक्टर जग्गा प्रयोग गर्न स्वीकृति प्राप्त भएको छ ।
  • निजी क्षेत्रको सहभागितामा संयुक्त अरब इमिरेट्स (यूएई)को दुबईमा नेपाली सिनेमा फेस्टा कार्यक्रम सम्पन्न भएको छ ।
  • नेपाललाई अन्तर्राष्ट्रिय सिनेमा छायांकनका लागि आकर्षक स्थलको रुपमा विकास गर्न गण्डकी प्रदेशका उत्कृष्ट लोकेसनहरु छानेर वृत्तचित्र निर्माण गरी प्रचार-प्रसार सुरु गरिएको छ ।
  • एक सय जना नेपाली महिला सिनेमाकर्मीहरुको अभिलेख राख्ने कार्यका लागि विवरण संकलन भएको छ ।
  • सिनेमा तथा सिनेमाजन्य वस्तुको पाइरेसी नियन्त्रण तथा सामाजिक सञ्जालमा हुने अनाधिकृत गतिविधि नियन्त्रण गर्ने विषयमा सरोकारवाला निकायसँग सहकार्य गरी अन्तर्क्रिया कार्यक्रम सञ्चालन गरिएको छ । सिनेमा तथा सिनेमाजन्य वस्तुको पाइरेसी नियन्त्रणसम्बन्धी सूचनामूलक सामाग्री तयार भई सिनेमाघरहरु मार्फत प्रचार-प्रसार सुरु गरिएको छ ।
  • दोलखा सिनेमा नगरी निर्माण आयोजनालाई सार्वजानिक निजी साझेदारी अवधारणामा अगाडि बढाउन सार्वजनिक निजी साझेदारीको मोडालिटी तयार भएको छ ।
  • नेपाली मौलिक कथाहरु संग्रह गरी उत्कृष्ट सिनेमा निर्माणमा प्रोत्साहनका ६ वटा कथानक र ६ वटा लघु सिनेमा छनोट भएका छन् ।
  • नेपाली सिनेमाकर्मीलाई प्रोत्साहन गर्ने उद्देश्यसहित लघु सिनेमा प्रतियोगिता गराई उत्कृष्ट तीनवटा सिनेमालाई पुरस्कृत गरिएको छ ।
  • राष्ट्र प्रमुखबाट प्रदान गरिने राष्ट्रिय पुरस्कार विशेष सिनेमा पुरस्कार तथा दीर्घसाधना सम्मान कार्यक्रम आयोजनाका लागि सिनेमाहरुको मूल्यांकन कार्य सम्पन्न भई बोर्डमा नतिजा पेश भएको छ ।
  • कोशी प्रदेशको इलाम, पाँचथर र ताप्लेजुङ तथा गण्डकी प्रदेशका बागलुङ, लमजुङ, गोर्खा र लुम्बिनी प्रदेशका विभिन्न जिल्लामा सिनेमाघरहरु नभएका स्थानमा घुम्ती सिनेमा तथा सिनेमा साक्षरता कार्यक्रम सञ्चालन गरिएको छ ।
  • सिनेमा साक्षरता अभिवृद्धि, दक्ष सिनेमाकर्मी उत्पादन एवं बालबालिकालाई पनि आफ्ना कथा भन्ने र हेर्ने वातावरण तयार गर्न बाल सिनेमा निर्माणका लागि प्रशिक्षण र तालिम प्रदान गरिएको छ । सिनेमा साक्षरता अभिवृद्धि गर्न सातै प्रदेशमा बाल सिनेमा निर्माण प्रशिक्षण तालिम प्रदान गरिएको छ । दाङको घोराहीमा प्रथम राष्ट्रिय बाल सिनेमा महोत्सव आयोजना गरिएको छ ।
  • सिनेमाकर्मीहरुको दक्षता अभिवृद्दिका लागि सिनेमा पटकथा लेखन, सिनेमा निर्देशन तथा सिनेमा छायांकन कार्यशाला सम्पन्न गरिएको । साथै, सरोकारवाला १० वटा संघसंस्थाहरुसँग राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सिनेमा महोत्सव, अवार्ड, कार्यशाला तथा तालिम कार्यक्रममा सहकार्य गरिएको छ ।
  • आदिवासी, जनजाति, मैथिली, मधेशी, भोजपुरी, अवधि, थारुलगायत विभिन्न भाषा संस्कृतिमा बन्ने सिनेमाहरुको विकास, विस्तार र प्रवर्द्धनमा सहयोग पुग्ने कार्यक्रम सञ्चालन गर्न आदिवासी जनजाति मातृभाषी सिनेमा महासंघ अन्तर्गतका १५ वटा जातीय संस्थासँग सहकार्य भई कार्यक्रम सम्पन्न भएका छन् ।
  • संसारकै उत्कृष्ट सिनेमा महोत्सवमध्ये एक कान्स इन्टरनेसनल सिनेमा फेस्टिभलमा बोर्डको समन्वयमा अविनाशविक्रम शाह निर्देशित लघु सिनेमाहरू ‘लोरी’ र ‘भुन्टे’ प्रदर्शनीको लागि पठाइएको छ ।
  • सिनेमासम्बन्धी विषय अध्ययनका लागि विभिन्न विश्वविद्यालय अन्तर्गतका क्याम्पसमा स्नातक तहमा अध्ययनरत १० जना विद्यार्थीहरुलाई जनही ५० हजार र विद्यावारिधितर्फ एक जनालाई ५० हजार रुपैयाँ छात्रवृत्ति प्रदान गरिएको छ ।

आगामी एक वर्षका कार्यक्रमहरु :

  • काभ्रेको बनेपामा अत्याधुनिक सुविधा सम्पन्न इन्डोर सिनेमा छायांकन स्टुडियो निर्माण गर्ने ।
  • नेपाल सिनेमा दिवसबारे महत्वपूर्ण निर्णय गरी पुनः कार्यान्वयनमा ल्याउने ।
  • चलचित्र विकास बोर्डको भवनमा पोष्ट प्रोडक्सन ल्याब तयार गरी सञ्चालन गर्ने ।
  • मौलिक सिनेमाको प्रवर्द्धनका लागि ऐतिहासिक जनआन्दोलन, जनयुद्ध, घटना, पात्र, सामाजिक जागरण एवं कलात्मक सिनेमा निर्माण र विश्वव्यापी प्रदर्शनमा अघि बढ्ने । साथै, गैरसरकारी तथा निजी क्षेत्रको सहकार्यमा सामाजिक जागरणका तीनवटा लघु सिनेमा निर्माण गरी लक्षित समुदायमा प्रदर्शन गर्ने ।
  • मोफसलमा निर्माण हुने मौलिक एवं सन्देशमूलक तीनवटा सिनेमा (प्रदेशगत रुपमा) छनोट गरी पोष्ट प्रोडक्सन तथा प्रदर्शनमा प्रोत्साहन अनुदान दिने ।
  • राष्ट्रिय सिनेमा पुरस्कार, विशेष सिनेमा पुरस्कार तथा दीर्घसाधना सम्मानलाई थप परिस्कृत र समयसापेक्ष बनाउने ।
  • नेपाली सिनेमाको प्रवर्द्धन गर्न सार्वजनिक-निजी क्षेत्रको सहकार्यमा नेपाली बाहुल्यता रहेको कुनै एक देशमा नेपाल सिनेमा मिट कार्यक्रम आयोजना गर्ने ।
  • बोर्डबाट सिनेमाकर्मीहरुको दक्षता अभिवृद्धिका लागि सम्पादन, मेकअप र अभिनय लगायतका विषयमा कार्यशालाहरू आयोजना गर्ने ।
  • महिला सिनेमाकर्मीहरुको सशक्तीकरणका कार्यक्रम प्रभावकारी रूपमा सञ्चालन गर्ने । अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा नेपाली सिनेमा क्षेत्रमा पुर्‍याएको योगदानका आधारमा महिला सिनेमाकर्मीलाई पुरस्कृत र सम्मानित गर्ने । साथै, संविधान दिवसको अवसरमा सामाजिक-शासकीय रुपान्तरणमा योगदान पुर्‍याएका सिनेमाकर्मी पहिचान गरी सम्मान एवं पुरस्कृत गर्ने ।
  • नेपाललाई अन्तर्राष्ट्रिय सिनेमा छायांकनका लागि आकर्षकस्थलको रुपमा विकास गर्न थप दुई प्रदेशमा रहेका उत्कृष्ट छायांकन स्थलको बारेमा प्रवर्द्धानात्मक सामग्री निर्माण गरी प्रचार-प्रसार गर्ने ।
  • योग्यता पुगेका सिनेमाकर्मीलाई राष्ट्रिय सिनेमाकर्मी परिचयपत्र वितरण गर्ने तथा परिचयपत्र प्राप्त सिनेमाकर्मीहरुको स्वास्थ्य बीमा कार्यक्रमलाई प्रभावकारी बनाउने ।
  • विदेशमा नियमित बक्स अफिसमार्फत स्वदेशी सिनेमा प्रदर्शन तथा सिनेमाको बजार विस्तारका लागि कार्य गर्ने सिनेमा वितरकलाई प्रदर्शन हुने नेपाली सिनेमाको सबटाइटल र इन्कोडिङका लागि आर्थिक सहयोग गर्ने । साथै, नेपालको मौलिक कला संस्कृति झल्कने विशेष सिनेमाहरुको छनोट गरी पुरस्कृत गर्ने, अन्तर्राष्ट्रियस्तरमा प्रदर्शनको लागि प्रोत्साहन गर्ने, सबटाइटल तथा इन्कोडिङ गर्न आर्थिक सहयोग गर्ने ।
  • सिनेमासँग सम्बन्धित संघसंस्थाहरुले आयोजना गर्ने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सिनेमा महोत्सव, अवार्ड, कार्यशाला तथा तालिम कार्यक्रममा फलदायी रूपमा सहकार्य गर्ने ।
  • सिनेमा एक्स्पो आयोजना गर्ने ।
  • नेपालका कुनै दुई प्रदेशमा सिनेमा पर्यटन महोत्सव आयोजना गर्ने ।
  • नेपाली सिनेमासँग सम्बन्धित सामाजिक सन्देश एवं सूचनामूलक श्रव्यदृश्य सामाग्री तयार गरी प्रचार-प्रसार गर्ने ।
  • नेपाली सिनेमाको अन्तर्राष्ट्रियस्तरमा विकास, विस्तार, प्रवर्द्धन र बजारीकरणका लागि सिनेमाको बाहुल्यता रहेको सम्भावित कुनै दुई देश छनोट गरी अन्तर्क्रिया र बजार अध्ययन, छायांकन स्थल प्रचार-प्रसार तथा सिनेमासम्बन्धी गतिविधिको अवलोकन भ्रमण गर्ने ।
  • आदिवासी, जनजाति, मातृभाषा संस्कृतिमा बन्ने सिनेमाहरुको विकास, विस्तार र प्रवर्धनमा सहयोग पुग्ने कार्यक्रमहरू सञ्चालन गर्ने ।
  • स्वदेशी सिनेमाको प्रवर्द्धन विकासका लागि अन्तर्राष्ट्रियस्तरमा आयोजना हुने कार्यशाला, महोत्सव, सेमिनार, एक्स्पो, अध्ययन लगायतका कार्यक्रममा बोर्ड र सिनेमाकर्मीहरुको सहभागिता गराउने ।
  • सिनेमासम्बन्धी विषय अध्ययनका लागि छात्रवृत्ति एवं शोधवृत्ति प्रदान गर्ने ।
  • सिनेमाघर नभएका तर बाक्लो जनसंख्या रहेका जिल्लाहरुमा घुम्ती सिनेमा मार्फत शैक्षिक संस्थाहरुमा समेत गरी सिनेमाकर्मीहरुको सहभागितामा सिनेमा साक्षरता कार्यक्रमलाई थप प्रभावकारी बनाउने ।
  • मौलिक सिनेमा निर्माणमा प्रोत्साहनका लागि सञ्चालित स्टोरी बैंकलाई अझै प्रभावकारी बनाउने ।