गणेशदेव पाण्डे निर्देशित ‘जुलेबी’को ट्रेलर सार्वजनिक

गणेशदेव पाण्डे निर्देशित ‘जुलेबी’को ट्रेलर सार्वजनिक

द सिनेमा टाइम्स
119
Shares

द सिनेमा टाइम्स, काठमाडौं – गणेशदेव पाण्डेद्वारा निर्देशित तेस्रो सिनेमा ‘जुलेबी’को ट्रेलर सार्वजनिक गरिएको छ । शुक्रबार सार्वजनिक ट्रेलरमा चार महिला पात्रको कथालाई देखाइएको छ । सिनेमा यौन मनोविज्ञानमा आधारित रहेको ट्रेलरले प्रष्ट्याउँछ ।

अभिनेत्री सुरक्षा पन्तलाई यौनकर्मीको रुपमा चित्रण गरिएको छ । सुशील सिटौला भने उनलाई एकतर्फी प्रेम गर्छन् । आगामी भदौ १ गतेबाट प्रदर्शनमा आउन लागेको एन्थोलोजी जनरामा निर्माण भएको ‘जुलेबी’को कथा रत्नपार्कसँग जोडिएको ट्रेलरले बुझाउँछ ।

फोर क्युब इन्टरटेन्मेन्टको ब्यानरमा बनेको सिनेमामा सुरक्षा र सुशीलका अलवा निशा अधिकारी, उषा रजक, मोनिका थापा, पुष्कर कार्की, तुफान थापा, समीरमणी दिक्षित, सिमरन शेरचनलगायतको पनि अभिनय छ । सिनेमाकी निर्मात्री आभा शर्मा नेपाल हुन् । ट्रेलरले सिनेमाको दृश्यभाषा सशक्त रहेको छनक दिन्छ ।

निर्देशक पाण्डे स्वयंको लेखन रहेको सिनेमामा विवेक खड्काको छायांकन, जाटवेद बनर्जीको संगीत, अन्जय खड्काको सम्पादन तथा साउण्ड डिजाइन उत्तम न्यौपानेको छ । निर्देशक पाण्डेले यसअघि ‘मञ्जरी’ र ‘गाँजाबाजा’ निर्देशन गरेका थिए ।

डिसीएन र रिच इन्टरटेन्टमेन्टले वितरण अधिकार लिएको सिनेमाको विदेशका केही देशमा प्रदर्शन अधिकार बिक्री भैसकेको जनाइएको छ ।