यौन मनोविज्ञानमा आधारित ‘जुलेबी’को पहिलो गीत ‘आज मन’ सार्वजनिक

यौन मनोविज्ञानमा आधारित ‘जुलेबी’को पहिलो गीत ‘आज मन’ सार्वजनिक

द सिनेमा टाइम्स
238
Shares

द सिनेमा टाइम्स, काठमाडौं – आगामी भाद्र १ गतेबाट प्रदर्शनको तयारीमा रहेको गणेशदेव पाण्डे निर्देशित सिनेमा ‘जुलेबी’को पहिलो गीत सार्वजनिक गरिएको छ । बिहीबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच सार्वजनिक गरिएको ‘आज मन भारी मगन’ बोलको गीतमा केतन क्षेत्रीको स्वर, कोशिस क्षेत्री र केतन क्षेत्रीको शब्द रचना तथा संगीत छ ।

सिनेमाको सार्वजनिक गीतमा सिनेमाका पात्रहरुको मनोभाव र परिस्थितिलाई देखाइएको छ । सिनेमाले उठाएको कथा गीतले अभिव्यक्त गरेको देखिन्छ । गीत सार्वजनिक कार्यक्रममा लेखक समेत रहेका पाण्डेले भने, ‘सिनेमाका पात्रहरुलाई रत्नपार्कले जोड्छ । सिनेमाको कथा सातजना पात्रहरुको सम्बन्धको वरिपरि घुमेको छ ।’

निर्देशक पाण्डेले सिनेमाको कथा आफ्नो जीवनको भोगाइबाट उत्पन्न भएको बताए । यसअघि उनले ‘मालतीको भट्टी’, ‘मञ्जरी’ र ‘गाँजाबाजा’ गरी तीन सिनेमाको निर्देशन गरिसकेका छन् । उनी ‘गाँजाबाजा’ रिलिजको लामो समयपछि सिनेमा निर्देशनमा फर्किएका हुन् ।

अभिनेत्री सुरक्षा पन्तले ‘जुलेबी’ले उठाएको कथामा धेरै सिनेमा नबन्ने बताइन् । सिनेमामा यौनकर्मीको भूमिका निभाएकी उनी भन्छिन्, ‘यस्तो कथामा नेपालमा धेरै सिनेमा बन्दैनन् । हाम्रो समाजले हेर्ने दृष्टिकोणले फरक भएपनि यौनकर्मीहरु सुन्दर लाग्ने व्यक्तिहरु पनि हुनुहुन्छ । यौनकर्मीहरुको आ-आफ्नै कथा-व्यथा हुन्छ । सिनेमामा त्यो पाटोलाई पनि देखाउन खोजिएको छ ।’

फोर क्युब इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएका सिनेमामा सुरक्षा पन्त, निशा अधिकारी, उषा रजक, मोनिका थापा, सुशील सिटौला, पुष्कर कार्की, तुफान थापा, समीरमणी दिक्षितको पनि अभिनय छ । सिनेमाकी निर्मात्री आभा शर्मा नेपाल हुन् । एन्थोलोजी जनरामा निर्माण भएको सिनेमाका कार्यकारी निर्माता नवीन भट्ट हुन् ।