टोरोन्टो फिल्म फेस्टिभलमा नविन सुब्बा निर्देशित ‘गाउँ आएको बाटो’ छनोट

टोरोन्टो फिल्म फेस्टिभलमा नविन सुब्बा निर्देशित ‘गाउँ आएको बाटो’ छनोट

द सिनेमा टाइम्स
420
Shares

द सिनेमा टाइम्स, काठमाडौं – विश्व प्रसिद्ध क्यानडाको ‘टोरोन्टो इन्टरनेशनल सिनेमा महोत्सव-२०२३’ मा नविन सुब्बा निर्देशित सिनेमा ‘गाउँ आएको बाटो’ छनोट भएको छ । अभिनेता दयाहाङ राईको मुख्य भुमिका रहेको सिनेमा ‘सेन्टर पिस’ सेक्सनमा छानिएर विश्व प्रिमियर हुने भएको छ ।

आगामी सेप्टेम्बर ७ देखि १७ सम्म चल्ने महोत्सवमा निर्देशक सुब्बा सहभागी हुने जनाइएको छ । यसअघि त्यस महोत्सवमा सिनेमा ‘सेतो सूर्य’ छनोट भएको थियो । निर्माण टिमद्वारा जारी विज्ञप्तिमा विश्वको प्रतिष्ठित महोत्सवमा नेपाली सिनेमा छनोट हुनुले नेपाली सिनेमा क्षेत्रमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरिएको छ ।

‘गाउँ आएको बाटो’ले नेपाली सिनेमाको विश्वमा दृष्यता बढाउने आशा निर्माण पक्षको छ । राई समुदायको सामाजिक पृष्टभूमिमा बनेको सिनेमा गाँउमा सडक आएपछि बाबु-छोराको सम्बन्धमा आउने उतार-चढावमा आधारित रहेको छ । सामुदायिक लगानीको अवधारणामा निर्माण भएको सिनेमामा दयाहाङका अलवा पशुपति राई, प्रसन राई, केशव राई, प्रेम सुब्बा, राज थापा, सुमित्रा राई आदिको अभिनय छ ।

महेश राई र निर्देशक नवीन सुब्बाको लेखन रहेको सिनेमामा अमेरिकी नागरिक जोस हेरमको छायांकन, क्वान पुन लिउङको सम्पादन, हेडी लिको संगीत र किशोर आचार्यको ध्वनी तथा राज थापा प्रोडक्सन डिजाइनर हुन् । मिन्सो लिम्बु लाइन प्रोड्युसर रहेको सिनेमाको कार्यकारी निर्माता सन्जु राई, नरहाङ राई, भिम राई र देवराज राई रहेका छन् ।

छोमोलोङमा प्रोडक्सन र गाँउघर फिल्म प्रडक्सनको सहयोगमा मेन्छ्याम पिक्चर्सको ब्यानरमा सिनेमा निर्माण भएको हो । ‘गाउँ आएको बाटो’ टोरोन्टो सिनेमा महोत्सवमा छनोट भएपछि अभिनेता दयाहाङ राईले खुसी व्यक्त गरेका छन् । सिनेमाको निर्माता आमोद राई र निर्देशक नवीन सुब्बा हुन् ।