‘डिग्री माइला’ले लियो रिलिज डेट : ०८१ को नयाँ वर्षमा रिलिज हुने

‘डिग्री माइला’ले लियो रिलिज डेट : ०८१ को नयाँ वर्षमा रिलिज हुने

बासुरी फिल्म्स प्रोडक्सनको ब्यानरमा निर्माण हुने सिनेमा नयाँ वर्षको अवसर पारेर रिलिज गर्ने बताएको निर्माण पक्षले कास्ट एन्ड क्रु भने सार्वजनिक गरेको छैन ।

द सिनेमा टाइम्स
399
Shares

द सिनेमा टाइम्स, काठमाडौं – निर्देशक रामबाबु गुरुङ नयाँ सिनेमा ‘डिग्री माइला : एमए थर्ड क्लास’को निर्माण तथा निर्देशनको तयारीमा लागेका छन् । सोमबार सिनेमा थिम पोस्टर सार्वजनिक गर्दै आगामी नयाँ वर्ष २०८१ लाई सिनेमाको प्रदर्शन मिति समेत घोषणा गरेका हुन् ।

बासुरी फिल्म्स प्रोडक्सनको ब्यानरमा निर्माण हुने सिनेमा नयाँ वर्षको अवसर पारेर रिलिज गर्ने बताएको निर्माण पक्षले कास्ट एन्ड क्रु भने सार्वजनिक गरेको छैन । ‘डिग्री माइला’ नाटकमा आधारित रहेर यो सिनेमा निर्माण हुन लागेको हो । यो नाटकको मुख्य भूमिकामा दयाहाङ राई थिए । ‘डिग्री माइला’ दर्शकले रुचाएको नाटक हो । नाटककै पात्र सिनेमा हुन्छन् अथवा अरु ? निर्माण पक्षले खुलाएको छैन ।

असोजमा पहिलो सेड्युल र मंसिरमा दोस्रो सेड्युलमा सिनेमाको छायांकन हुनेछ । सिनेमाको स्लोगन निर्माण पक्षले ‘किन चाउरियो मरिच आफ्नै रागले’ दिएको छ । रामबाबु गुरुङ बक्स अफिसमा हिट सिरिज ‘कबड्डी’ सिनेमाका निर्देशक हुन् ।

कमेडी जनरामा निर्माण हुने सिनेमाले शैक्षिक बेरोजगारीले युवाहरुमा ल्याएको चरम निराशामा आधारित हुनेछ । नाटकले पनि यही विषय उठाएको थियो । गतवर्ष रामबाबु निर्देशित सिनेमा ‘कबड्डी ४’ र ‘फुलबारी’ प्रदर्शनमा आएका थिए । भने, उनले निर्माण गरेको सिनेमा ‘जारी’ गत बैशाख १ गतेबाट प्रदर्शनमा आएको थियो ।