‘रङ्गेली ग्याङ्स्टर्स’ नाम परिवर्तन गर्दै फागुन २५ गतेलाई प्रदर्शन मिति घोषणा

‘रङ्गेली ग्याङ्स्टर्स’ नाम परिवर्तन गर्दै फागुन २५ गतेलाई प्रदर्शन मिति घोषणा

द सिनेमा टाइम्स
1k
Shares

द सिनेमा टाइम्स, काठमाडौं – छायांकनको तयारीमा रहेको सिनेमा ‘रङ्गेली ग्याङ्स्टर्स’ नाम परिवर्तन गरेर ‘रङ्गेली’ राखिएको छ । सोमबार सिनेमाको निर्माण टीमले एक प्रेस विज्ञप्ती जारी गर्दै नाम परिवर्तन गरिएको जानकारी दिएको हो ।

सिनेमाको निर्माण टिमले सार्वजनिक गरेको विज्ञप्तीमा लेखिएको छ, ‘शीर्षकमा गरिएको परिवर्तनले हाम्रो समाज भित्र सकारात्मकता, एकता र सम्मानको वातावरण कायम राख्न सहयोग पुग्ने विश्वास गरिएको छ ।’ सिनेमाको छायांकन हुने स्थान मोरङ जिल्लाको रङ्गेलीमा भएको आपसी समझदारीबाट शीर्षक परिमार्जनको निर्णय गरिएको हो ।

त्यहाँका स्थानीय समुदायका अग्रजहरू तथा स्थानीय निकायबाट सिनेमाको शीर्षकमा परिवर्तनको लागि आग्रह गरिएको थियो । उहाँहरूको आग्रहलाई सम्मान गर्दै शीर्षक परिमार्जन गरिएको हो । यद्यपि, सिनेमाको स्क्रिप्टमा कुनै परिवर्तन नगरिएको जानकारी निर्माण टिमले दिएको छ ।

साथै, विज्ञप्तीमार्फत ‘रङ्गेली’को रिलिज महाशिवरात्रीको अवसरमा मिति २०८० सालको फागुन २५ गतेलाई औपचारिक रुपमा तोकिएको छ । सिनेमामा दयाहाङ राई, मिरुना मगर, अर्पण थापा, प्रविण खतिवडा, रविन बोगटी लगायतका कलाकारको अभिनय रहनेछ । आगामी भदौ २० गतेबाट सिनेमा छायांकनमा जानेछ ।

सिनेमाका लेखक तथा निर्देशक अर्जुन सुवेदी हुन् । जीतेन्द्र खतिवडा र अनुज जङ्ग थापा कार्यकारी निर्माता रहेको सिनेमामा संसार चौलागाई र रमेश भट्टराई बशिष्ठ निर्माता तथा युवक कार्की र शिव थपलिया सह-निर्माताको रुपमा छन् । सुशन प्रजापतिले खिच्ने सिनेमाको एशोसियट निर्माता बिबेक खड्का (योलो) हुन् ।