सिनेमा सफल हुन प्रि-प्रोडक्शनदेखि जोडिने हरेक व्यक्तिको महत्वपूर्ण भूमिका हुन्छ : स्वस्तिमा खड्का

सिनेमा सफल हुन प्रि-प्रोडक्शनदेखि जोडिने हरेक व्यक्तिको महत्वपूर्ण भूमिका हुन्छ : स्वस्तिमा खड्का

एउटा सिनेमा सफल हुनका लागि सिनेमाका लेखक, निर्माता, निर्देशक तथा सम्पुर्ण कलाकार अनि प्राविधिकको हात हुने स्वस्तिमाले बताइन् ।

द सिनेमा टाइम्स
105
Shares

द सिनेमा टाइम्स, काठमाडौं – अभिनेत्री स्वस्तिमा खड्का अहिले आगामी भाद्र १४ गतेबाट प्रदर्शनको तयारीमा रहेको सिनेमा ‘ऐंचो पैंचो’को प्रचार-प्रसारमा व्यस्त छिन् । यसका साथै उनी विभिन्न ब्राण्डसँग जोडीएर पनि काम गरिरहेकी छन् । भने उनको मुख्य भुमिका रहेका दुई सिनेमा ‘पशुपति प्रसाद २ : भष्मे डन’ र ‘दिमाग खराव’ पनि आगामी दशैं र तिहारको अवसरमा रिलिज हुँदैछन् ।

उनै स्वस्तिमा सोमबार ‘ऐंचो पैचो’को ट्रेलर रिलिज कार्यक्रममा उपस्थित भएकी थिइन् । सिनेमाको सार्वजनीक ट्रेलर हेर्दा पनि कथावस्तु उनकै वरिपरी घुमेको बुझ्न सकिन्छ । उनले सिनेमाको ट्रेलर रिलिज कार्यक्रममा बोल्दै कुनै पनि सिनेमाको सफलता वा असफलताको जस एक जना कलाकारलाई मात्र दिन नमिल्ने बताएकी हुन् ।

स्वस्तिमाले एउटा सिनेमा सफल हुनका लागि सिनेमाका लेखक, निर्माता, निर्देशक तथा सम्पुर्ण कलाकार अनि प्राविधिकको हात हुने बताइन् । यो सिनेमा स्वतिमाका लागि मात्रै होइन पुरै टिमकै पनि चल्न आवश्यक छ । तर, उनले भने सिंगो सिनेमा आफ्नो काँधमा बोक्ने कुरालाई अस्विकार गरिन् ।

उनले अगाडी भनिन् – ‘मैले सिनेमा नै काँधमा बोकेर हिँड्न सम्भव छैन । बोक्छु भन्न पनि मिल्दैन किनभने एक जनाले मात्रै केही बोक्ने पनि होइन, एक जना मान्छेले मात्र सिनेमा चलाउँछु भनेर सिनेमा राम्रो पनि बन्दैन । यसका लागि सिनेमाको प्रि-प्रोडक्शनदेखि जोडिने हरेक व्यक्तिको उत्तिकै महत्वपूर्ण भूमिका हुन्छ ।’

उनले भोलिको दिनमा ‘ऐंचो पैंचो’ सफल भएको खण्डमा सबै क्रेडिट आफूले मात्र लिन नमिल्ने पनि बताइन् । अन्य कलाकारको भन्दा आफ्नो अनुहार बढी मिडियामा आएकाले पनि दर्शक र मिडियाकर्मीले यसो भनेको हुनसक्ने उनको तर्क थियो । मिडियाले यसरी भार थपिदिदा के भन्नुहुन्छ भन्ने प्रश्नमा स्वस्तिमाले भनिन् – ‘दुई चार किलो थप्दा त ठिकै छ, किनकी यसले मेन्टेन पनि भैराख्छ ।’

पूर्वी नेपालमा रमणीय स्थानमा खिएको सिनेमामा स्वस्तिमा खड्का, मुकुन भुषाल, बर्षा राउत, सुशिल सिटौला, कोशिस क्षेत्री, रमेश बुढाथोकी, राजाराम पौडेल, बुद्धि तामाङ, रविन्द्र झा, सरिता गिरी, विशाल पहारी लगायतका कलाकारको अभिनय रहेको छ । सिनेमाको बिहीबार सार्वजनिक गीतमा एलेक्स बिक पारस विशेष भुमिका देखिएका छन् । सिनेमाकी निर्देशक कृषा चौलागाई हुन् । उनले यही सिनेमाबाट निर्देशनमा डेव्यु गर्दैछिन् ।

केपी फिल्मस्को ब्यानरमा निर्माण भएको सिनेमामा प्रितम लामिछाने र आध्या लामिछाने निर्माता र विशाल चौलागाई सह-निर्माताको रुपमा रहेका छन् । सिनेमामा अभिमन्यु निरवीको कथा, पुरुषोत्तम प्रधानको छायांकन, कविराज गहतराजको कोरियोग्राफी, शुजिल कर्माचार्यको पाश्र्व संगीत, रेनिश फागोकको कलर, सत्यम राणको भिएफएक्स, मुकेश शाहको साउण्ड डिजाइन, भोला सुवेदी (प्रनव) प्रोडक्सन कन्ट्रोलर, विनय राज पौडेलको मुख्य सहायक निर्देशक र विपिन मल्ल र भुपेन्द्र अधिकारीको सम्पादन छ ।

तस्वीर : सुरज धामी