‘दान्भी’मा पूजाको एक्सन अवतार, नैकापमा क्लाइमेक्स खिचिँदै

‘दान्भी’मा पूजाको एक्सन अवतार, नैकापमा क्लाइमेक्स खिचिँदै

द सिनेमा टाइम्स
189
Shares

द सिनेमा टाइम्स, काठमाडौं – अभिनेत्री पूजा शर्मा पहिलो पटक छायांकनरत सिनेमा ‘दान्भी’मा एक्सन भूमिकामा प्रस्तुत हुँदैछिन् । दुई हप्ता एक्सनको तालिम लिएपछि उनी सिनेमाको छायांकनमा जोडिएकी थिइन् । यतिबेला काठमाडौंको नैकापमा तयार पारिएको सेटमा एक्सनयुक्त क्लाइमेक्स दृश्यको छायांकन भैरहेको छ । जसमा पूजा ‘एक्सन लेडी’को रुपमा देखिएकी छन् ।

निर्माण पक्षले उपलब्ध गराएको केही तस्विरमा पूजा दुई हातमा बञ्चरो लिएर एक्सन अवतारमा देखिएकी छन् । एक तस्विरमा उनी गाडीभित्र घाइते अवस्थामा रहेका दुई पुरुष खलपात्रको छातिमा टेकेर एङ्ग्री लुक्समा चित्रित छिन् । पूजाको यो अवतारले दर्शकलाई सिनेमाप्रति कौतुहल्ता पैदा गर्ने देखिन्छ ।

रुपेश तामाङको निर्देशनमा निर्माण भैरहेको ‘दान्भी’मा श्री श्रेष्ठको एक्सन निर्देशन छ । सिनेमाको क्लाइमेक्समा सयजना फाइटर प्रयोग गरिएको निर्देशक तामाङले जानकारी दिए । उनले भने- ‘सिनेमाको क्लाइमेक्सका लागि हामीले निकै मिहिनेत गरिरहेका छौं । दर्शकलाई साउथ र बलिउडको महसुस हुनेछ ।’

त्यस्तै, क्लाइमेक्समा तीन दिनदेखि काम गरिरहेकी पूजाले एक्सनमा नयाँ प्रयोग हेर्न पाउने दाबी गरेकी छन् । एक्सनमा काम गर्न सहज नभएको उनको अनुभव छ । सिनेमामा पूजाको जोडी मोडल कुन्साङ बोमजनसँग बाँधिएको छ । हरि लामा घलेको छायांकन तथा नवराज शर्माको सह-निर्देशन रहेको सिनेमामा रविना थापा मगरको कथा, संजोग रानाको पटकथा तथा संवाद, अर्जुन पोखरेलेको संगीत, कविराज गहतराजको कोरियोग्राफी छ ।

अनुप गदाल र देव मगरको लगानीमा तयार भैरहेको सिनेमामा कमला लिम्बु र गोकुल सुवेदी सह-निर्मातामा छन् । सिनेमाको केही प्रतिशत छायांकन दार्जिलिङमा पनि गरिनेछ ।