‘पशुपति प्रसाद २ : भष्मे डन’को पोस्टर सार्वजनिक, दशैंमा रिलिज

‘पशुपति प्रसाद २ : भष्मे डन’को पोस्टर सार्वजनिक, दशैंमा रिलिज

पोस्टरमा अभिनेता विपिन कार्की 'भष्मे डन'को चरित्रमा प्रस्तुत छन्, भने अभिनेत्री स्वस्तिमा खड्कालाई 'दुर्गामाता'को अवतारमा चित्रण गरिएको छ ।

द सिनेमा टाइम्स
833
Shares

द सिनेमा टाइम्स, काठमाडौं – निर्देशक दीपेन्द्र के खनालको निर्देशनमा निर्माण भएको सिनेमा ‘पशुपति प्रसाद २ : भष्मे डन’को पोस्टर सार्वजनिक गरिएको छ । शुक्रबार सिनेमाका तीन भिन्न पोस्टर सार्वजनिक गरिएका हुन् ।

सिनेमाको शुक्रबार सार्वजनिक पोस्टरमा अभिनेता विपिन कार्की ‘भष्मे डन’को चरित्रमा प्रस्तुत छन्, भने अभिनेत्री स्वस्तिमा खड्कालाई ‘दुर्गामाता’को अवतारमा चित्रण गरिएको छ । सिनेमाको सार्वजनिक पोस्टरमा सौगात मल्ल, रविन्द्र सिंह बानियाँ, माओत्से गुरुङ, प्रकास घिमिरे, लोकेन्द्र लेखक लगायतका अन्य कलाकारहरुलाई पनि स्थान दिएको छ ।

निर्माण टिमका अनुसार पशुपति प्रसादको मृत्यु पश्चात पशुपति क्षेत्रमा आफ्नो अस्तित्व स्थापित गर्न संघर्षरत भष्मे डनको जीवनमा एउटा रोमाञ्चक पात्रको प्रवेशपछि सुरु भएको परिचय र आत्मसम्मानको लागि गर्ने शक्ति संघर्षको कथामा ‘पशुपति प्रसाद २ : भष्मे डन’ निर्माण गरिएको हो ।

सिनेमामा मिस्श्री थापा, सजन थापा मगर, विभु पौडेल प्रकाश दाहालको पनि अभिनय रहेको छ । ‘पशुपति प्रसाद २ : भष्मे डन’मा अभिनेता तथा निर्माता खगेन्द्र लामिछाने, अभिनेत्री वर्षा सिवाकोटीको पनि बिशेष भुमिका रहनेछ । सिनेमाको एक गीतमा अभिनेत्री आँचल शर्मा र अभिनेता निश्चल खड्का पनि विशेष भुमिकामा देखिने छन् ।

सिनेमालाई खगेन्द्र लामिछानेले लेखेका हुन् । सिनेमाको निर्माता पनि उनी स्वयं हुन् । निरज कँडेलको डिओपी, कृष्ण थापाको छायांकन, दीर्घ खड्काको सम्पादन, कृष्ण भारद्वाज तथा सुभाष भुषालको संगीत रहने सिनेमा टुकी आर्टस्को ब्यानरमा निर्माण भएको छ । आगामी बडा दशैंको फूलपातीबाट सिनेमा प्रदर्शनमा आउने छ ।

व्यावसायिक तथा समीक्षात्मक रुपमा सफल सिनेमा ‘पशुपति प्रसाद’को चरित्र ‘भष्मे डन’मा केन्द्रित सिक्वेलको रुपमा निर्माण भएको हो । लेखक लामिछानेले सिनेमा नाम मात्रको सिक्वेल नभई अर्थपूर्ण र तर्कपूर्ण सिक्वेल बनेको बताउँछन् । सिनेमालाई नेपालमा डिसिएन, टि फक्स र रिच इन्टरटेनमेन्ट अनि भारतमा सुष्मा प्रोडक्सन र विश्वभर सेभेज सिजले वितरण गर्दैछन् ।