वितरक शाहीले देखाए नेपाली क्रिकेट खेलाडीलाई अभिषेक बच्चनको ‘घुमर’

वितरक शाहीले देखाए नेपाली क्रिकेट खेलाडीलाई अभिषेक बच्चनको ‘घुमर’

द सिनेमा टाइम्स
210
Shares

द सिनेमा टाइम्स, काठमाडौं – शुक्रबारबाट प्रदर्शनमा आएको सिनेमा ‘घुमर’ नेपाली राष्ट्रिय क्रिकेट टोलीका पुरुष तथा महिला खेलाडीले हेरेका छन् । पुरुष र महिला टोलीका २०-२० जना खेलाडीले बिग मुभिजमा आयोजित विशेष शोमा सिनेमा हेरेका हुन् ।

खेलाडीका लागि विशेष शोको आयोजना सिनेमाको नेपाल वितरक गोविन्द शाहीले गरेका थिए । नेपाली क्रिकेटको पुरुष टोलीका सोमपाल कामी, भीम सार्की, प्रतिश जिसी लगायतले सिनेमा हेरेका थिए । साथै, महिला टोलीका करुणा भण्डारी, कृतिका मरासिनी, सरिता मगर लगायतले सिनेमा हेरेका हुन् ।

आर बल्की निर्देशित सिनेमा क्रिकेटको कथावस्तुमा आधारित छ । एक दुर्घटनामा दायाँ हात गुमाएकी एक महिला पात्रलाई तालिम दिएर एक असफल र निराशावादी क्रिकेट खेलाडीले उनको भाग्य बदलिदिएको कथावस्तु वरपर सिनेमाको कथा घुमेको छ ।

सिनेमा हेरिसकेपछि खेलाडीले प्रशंसा गरेका छन् । नेपाली क्रिकेट टीमका तीव्र गतिका बलर सोमपालले सिनेमाले आफूलाई प्रेरणा दिएको बताए । अन्य खेलाडीले पनि सिनेमाले दिएको सन्देश महत्वपूर्ण रहेको भन्दै सम्पुर्ण सिनेमा प्रेमी दर्शकलाई ‘घुमर’ हेर्न आग्रह गरेका थिए ।

नेपाली क्रिकेट टोलीलाई सिनेमा रिलिजको पूर्वसन्ध्यामा बलिउड अभिनेता अभिषेक बच्चनले भिडियो सन्देश जारी गर्दै एसिया कपको शुभकामना दिएका थिए । यही सिनेमाबाट काफिया फिल्म्सका सञ्चालक गोविन्द शाहीले नेपालमा विदेशी सिनेमाको वितरण थालेको छन् । अर्को शुक्रबारबाट उनले नेपालमा आयुष्मान खुराना र अनन्या पाण्डेको मुख्य भुमिका रहेको सिनेमा ‘ड्रिमगर्ल’ रिलिज गर्दैछन् ।