प्रेम आले भन्छन्– बाटो बिराएका नेतालाई सच्याउने सिनेमा हो ‘ऐंचो पैंचो’

प्रेम आले भन्छन्– बाटो बिराएका नेतालाई सच्याउने सिनेमा हो ‘ऐंचो पैंचो’

पोलिटिकल इज अ डर्टी गेम’ भन्ने भनाइ रहेको अवस्थामा खराब बाटोमा रहेका राजनीतिर्मीलाई पनि सच्चिन सिनेमाले सन्देश दिनमा आफू ढुक्क रहेको उनले बताए ।

द सिनेमा टाइम्स
28
Shares

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का नेता प्रेम आलेले सिनेमा ‘ऐंचो पैंचो’ले राजनीतिक दलका नेताहरूलाई सच्चिन सन्देश दिने बताएका छन् ।

‘पोलिटिकल इज अ डर्टी गेम’ भन्ने भनाइ रहेको अवस्थामा खराब बाटोमा रहेका राजनीतिर्मीलाई पनि सच्चिन सिनेमाले सन्देश दिनमा आफू ढुक्क रहेको उनले बताए । उनले सबैलाई सिनेमा हेर्नका लागि आग्रहसमेत गरेका छन् ।

‘ट्रेलर हेर्दा गहन कुरा समावेश भएको देखिन्छ । सिनेमामा धेरै स्टोरी छन् । सिनेमा सत्यमा आधारित रहेको देखिएको छ,’ उनले भने, ‘यो सिनेमाबाट धेरै दर्शकले मनोरञ्जनसँगै ज्ञान पनि हाँसिल होला भन्ने लागेको छ ।’

पछिल्लो समय नेपाली सिनेमामा राजनीतिक विषय पनि समेटिन थालेको उनको भनाइ छ । ‘ऐँचो पैँचो’को ट्रेलर सार्वजनिक कार्यक्रममा पुगेका पूर्वमन्त्री समेत रहेका नेता आलेले पछिल्लो समय नेपालको राजनीतिक अस्थिरतालाई सिनेमाले उठान गरेको बताए ।

‘ऐँचो पैँचो’को ट्रेलरले आफ्नो मन छोएको बताएका नेता आलेले नेपालमा राजनीतिक विषयवस्तुमा अझै धेरै सिनेमा निर्माण हुन जरुरी रहेको बताए ।

‘सिनेमा निर्माण अगाडि नै सिनेमाको कथामा लेख्दा मलाई पनि समावेश गरेको भएको अरु थुप्रै नयाँ राजनीतिक कुरा सिनेमामा आउन सक्थे । यद्यपि, सिनेमामा जति कुरा आएका छन्, यी कुरा मात्रै पनि दर्शकलाई हलसम्म ल्याउन पर्याप्त छन्’, उनले भने ।

भदौ १४ गते आफू परिवारसहित हलमा गएर सिनेमा हेर्ने उनको भनाइ छ । ट्रेलर हेर्दा राजनीतिले देश र समाजमा पारेको प्रभावलाई नजिकबाट देखाउने प्रयास गरेको बुझ्न सकिने उनले बताए । उनले सबै राजनीतिक दलका नेता तथा तिनका परिवारलाई पनि ‘ऐँचो पैँचो’ हेर्न आग्रह गरे ।

कृषा चौलागाईंको निर्देशन रहेको सिनेमामा स्वस्तिमा खड्का, मुकुन भुषाल, वर्षा राउत, सुशील सिटौला, कोसिस क्षेत्री, रमेश बुढाथोकी, राजाराम पौडेल, बुद्धि तामाङ, रवीन्द्र झा, सरिता गिरी, विशाल पहारीलगायत कलाकारको अभिनय छ । सिनेमाको एलेक्स बिक (पारस)को पनि विशेष भूमिका रहेको छ ।

सिनेमामा अभिमन्यु निरवीको कथा, पुरुषोत्तम प्रधानको छायांकन, कविराज गहतराजको कोरियोग्राफी, शुजिल कर्माचार्यको पार्श्व संगीत, रेनिश फागोकको कलर, सत्यम राणको भिएफएक्स, मुकेश शाहको साउण्ड डिजाइन, भोला सुवेदी (प्रनव) प्रोडक्सन कन्ट्रोलर, विनय राज पौडेलको मुख्य सहायक निर्देशक र विपीन मल्ल र भुपेन्द्र अधिकारीको सम्पादन छ ।

केपी फिल्मस्को ब्यानरमा निर्माण भएको सिनेमामा प्रितम लामिछाने र आध्या लामिछाने निर्माता र विशाल चौलागाईं सहनिर्माता रहेका छन् ।